राजस्व कार्यालयका कर्मचारी हुँ भन्दै रकम असुली गर्ने ८ जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राजस्व कार्यालयका कर्मचारी हुँ भन्दै रकम असुली गर्ने ८ जना पक्राउ


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौँ भन्दै केही व्यक्तिहरूले काठमाडौँको बसपार्क क्षेत्रका होटेल र पसलबाट रकम असुल गरेको पाइएको छ ।

आफूहरू आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको कर्मचारी भएको भन्दै होटेल, रेस्टुरेन्ट र पसलबाट विभिन्न परिणाममा रकम असुल गरेको आरोपमा ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

उनीहरूले काठमाडौँको बसपार्क क्षेत्रका होटेल, रेस्टुरेन्ट, पसल र फुटपाथ पसलबाट समेत गरी ५ लाख रुपैयाँ भन्दा बढी रकम असुलेको पाइएको छ ।

पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर बिक, पाँचथरकी सिर्जना भट्टराई, अछामकी सागर जङ्ग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए ।

उनीहरूले आन्तरिक राजस्व कार्यालयको कर्मचारीले जस्तै पोसाक लगाउनुका साथै परिचय पत्र पनि बोकेका प्रहरीले जनाएको छ । स्थानीय व्यवसायीले शङ्का लागेर प्रहरीलाई खबर गरेपछि २३ मंसिरको साँझ प्रहरी वृत्त बालाजुको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राजीव विष्टको डेराबाट आन्तरिक राजस्व कार्यालयको जस्तै स्टाम्प, लेटरप्याड, रसिद र परिचयपत्र भेटिएको प्रहरीले बताएको छ । त्यस्तै डेविड धामीको कोठाबाट पनि आन्तरिक राजस्व कार्यालयको जस्तै रसिद, लेटरप्याड, परिचयपत्र र परिचयपत्र झुण्याउने डोरी बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध हालसम्म ४ जना व्यवसायीले लिखित जाहेरी दिएको र पीडितहरू आउने क्रम जारी रहेको काठमाडौँका प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए ।

उनीहरुविरुद्ध ठगी र कीर्तेसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस