कागेश्वरी मनोहरा नगरपालिकामा तालाबन्दी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कागेश्वरी मनोहरा नगरपालिकामा तालाबन्दी


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । काठमाडौँको साँखु–चावाहिल सडक अन्तर्गत थली खण्डमा सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । ३ दिनदेखि जारी विरोधका क्रममा आइतबार कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ ।

वर्षौँदेखि सडक खनेर अलपत्र अवस्थामा छाडिएपछि सडक कालोपत्रेको माग गर्दै आन्दोलनमा उत्रिएको राप्रपाकी नेतृ कुन्ती पोखरेलले जानकारी दिइन् ।

नगरपालिका कार्यालय अगाडिको बाटो नै कालोपत्रे नभएका कारण हिउँदमा धुलो र वर्षामा हिलोले स्थानीय हैरान हुने गरेका कारण सो समस्या समाधान हुने निश्चित नभएसम्म विरोध जारी राख्ने पोखरेलले बताइन् ।

हालै प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत पर्ने सोही क्षेत्रमा प्रतिस्पर्धा गरेकी राप्रपाकी उम्मेदवार रहेकी पोखरेलले चुनावमा पराजित भए पनि सो क्षेत्रका जनताको सुख दुःखमा साथ दिने उल्लेख गर्दै बलियो प्रतिपक्षको रूपमा खडा हुने उल्लेख गरिन् ।

उनले भनिन्– ‘वर्षौँदेखि यहाँको सडक अलपत्र अवस्थामा छोडिएको छ । नगरपालिकाको कार्यालय अगाडि भए पनि नगरपालिकाले कुनै पहल नगरेका कारण कार्यालयमा ताला लगाउनुपरेको हो । आफ्नो क्षेत्राधिकार बाहिरको बाटो भनेर नगरपालिका पन्छन पाउँदैन । नगरपालिकाले आफ्नो नगरभित्रको बाटोको जिम्मा लिनुपर्छ भनेर सम्झाउनका लागि तालाबन्दी गरिएको हो ।’

चावाहिल–साँखु सडक खण्डमध्ये थली क्षेत्रमा झन्डै १ किलोमिटर कच्ची अवस्थामा रहेको छ । बाटो कालोपत्रे नहुँदा हरेक वर्ष सो खण्डमा स्थानीयले सास्ती भोग्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस