सरकारी संरचनामा भइरहेको ढिलाइप्रति असन्तुष्ट मन्त्रीको प्रश्न, ढिलाइ गर्दा कमिसन बढ्छ ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारी संरचनामा भइरहेको ढिलाइप्रति असन्तुष्ट मन्त्रीको प्रश्न, ढिलाइ गर्दा कमिसन बढ्छ ?


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । शहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणाधीन सरकारी संरचनामा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।

मन्त्रालय सम्हालेलगत्तै खासगरी उपत्यकाभित्र निर्माणाधीन ठूला संरचनाहरूको एकसरो अनुगमन गरेका शहरी मन्त्री चौधरीले पुनः तीनै संरचनाहरूको अनुगमन सुरु गरेका छन्।

शनिबार भैंसेपाटीमा निर्माणाधीन संघीय मन्त्री, सभामुख, मुख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासहरूको स्थलगत निरीक्षणलगत्तै मन्त्री चौधरीले सम्बन्धित विभाग, ठेकेदार कम्पनीसँग छलफल गरेका छन्।

‘काममा किन ढिलाइ भइरहेको छ ? पाँच महिनापछि आउँदा पनि अवस्था किन उस्तै छ ? ढिलाइ गर्दा कमिसन बढ्छ ?’ मन्त्रीको प्रश्न सुनेर मुखामखु गरेका कर्मचारीले कोभिडका कारण ढिलाइ भएको बताएका थिए। ‘कोभिड त सकिएन र?’ लगत्तै मन्त्रीले प्रश्न गरे। ‘स्थानीयले दुःख दिँदा काम गर्न सकिएन हजुर।’

‘के उपाय गरेर हुन्छ, काम छिटो सक्नुस्। मैले के गर्नु पर्‍यो मलाई भन्नुस्।’ मन्त्रीको जवाफ थियो।

त्यसलगत्तै शहरी मन्त्री चौधरी भैंसेपाटीबाट सिधै राजदरबार परिसरभित्र रहेको गणतन्त्र स्मारकको निरीक्षणमा हानिए। त्यहाँ पनि सोचेअनुरुप प्रगति नदेख्दा मन्त्री चौधरी थप असन्तुष्ट बने। सम्बन्धित पक्षलाई उनले छलफलका लागि आइतबार मन्त्रालयमा आउन निर्देशनसमेत दिए।

Tags :
प्रतिक्रिया दिनुहोस