देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको छ : माधव नेपाल « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको छ : माधव नेपाल


२४ मंसिर २०७९, शनिबार


भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको बताएका छन् ।

भक्तपुरको सूर्य विनायक नगरपालिका–५ सूर्य नगरमा सूर्य नगर टोल विकास समाजले आज आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई बधाई, शुभकामना तथा चियापान कार्यक्रममा उनले देशले एकता र साझा सहमतिको विन्दु खोजेको बताए ।

जनताले निर्वाचित गरेका नेताहरुले आफूप्रति इमानदारिता र जनताप्रति बफादार भएर लाग्नुपर्ने औँल्याउँदै उनले भने, ‘हामी आफ्ना आफ्ना खुबी, क्षमता, वाक कटुता, व्यक्तिको छाप प्रयोग गरी राजनीतिक खेलको मैदानबाट उत्रिएका छौँ, जित्नु ठुलो कुरा होइन, जनतासँग हामीले जुन प्रतिबद्धता व्यक्त गरेका छौँ, त्यो पूरा गर्न इमान्दार र जनताप्रति बफादार भएर काम गर्नुपर्छ ।’
चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न जनतासँग जोडिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले जनताको आवाज सुन्ने, उनीहरूको पीडालाई सम्बोधन गर्ने, जनताको असीमित चाहना, इच्छा र माग पूरा गर्न तथा अत्यावश्यक चाहनालाई पूरा गर्ने काममा लाग्नुपर्नेमा जोड दिए ।

जनताले मन पराएका छैनन् भने नेताहरुले फकाउन सक्नुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले जनतालाई फकाउन, मिलाउन र साथमा लिएर समस्या समाधानमा लाग्नुपर्ने बताए ।

उनले भने, ‘आश्वासन दिँदा त्यहाँ ठाउँ राख्नुपर्छ, जनताका सबै माग पूरा गर्न सकिँदैन, सक्दो कोसिस गर्नुपर्ने हुन्छ ।’ अध्यक्ष नेपालले नेपालको अर्थतन्त्र सङ्कटतर्फ बढेको भन्दै यसलाई कसरी सुधार्ने भनेर समीक्षा गर्नु आवश्यक रहेको बताए । राजनीतिक परिवर्तनसँगै अब आर्थिक परिवर्तन र विकासको दायित्व पूरा गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा भक्तपुर क्षेत्र नंं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका सभापति दुर्लभ थापाले अहिलेको आवश्यकता सरकारको नेतृत्व कसले गर्नेभन्दा पनि देशमा स्थायित्व दिन सक्ने, समृद्धिका लागि कहीँ, कतै नअलमली कन अगाडि बढ्ने गरी स्थिर सरकार निर्माण गर्नुपर्ने बताए ।

भक्तपुर क्षेत्र नं २ (१) बाट निर्वाचित बाग्मती प्रदेशसभा सदस्य किरण थापाले भोट माग्न जाँदा जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाए । भक्तपुर क्षेत्र नं २ (१) बाट निर्वाचित बाग्मती प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले व्यवस्थित रूपमा विकासका पूर्वाधार निर्माण गर्दै जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेस सूर्य विनायक नगर सभापति निशान ढुङ्गेल, जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दीपक थापा, सूर्य नगर टोल विकास समाजका सल्लाहकार एवं नेपाल पत्रकार महासङ्घ भक्तपुरका सचिव गोविन्द चौलागाइँ, समाजका अध्यक्ष एवं कार्यक्रमका सभापति बालकृष्ण न्यौपानेलगायतले यहाँका खानेपानी, सडकलगायत समस्याबारे चर्चा गरेका थिए ।

गायक नवीन कार्कीले कार्यक्रममा विभिन्न गीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बललगायतको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस