पञ्च वर्षीय विकास योजना तयारीमा गाउँपालिका « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पञ्च वर्षीय विकास योजना तयारीमा गाउँपालिका


२४ मंसिर २०७९, शनिबार


मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकाले भौतिक पूर्वाधार विकास योजना बनाउने भएको छ । चालु आव २०७९/०८० देखि लागू हुने गरी पञ्च वर्षीय भौतिक पूर्वाधार विकास योजना बनाउन लागिएको गाउँपालिकाले जनाएको छ ।

परामर्शदाता कम्पनी छनोट गरी योजना निर्माणको काम अघि बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले जानकारी दिए । परामर्शदाता कम्पनीले गाउँपालिकाको समग्र वस्तुस्थितिको अध्ययनपश्चात् खाका तयार गरी अहिले सरोकारवालासँग आवश्यक छलफल र सुझाव सङ्कलन गरिररहेको उनले बताए ।

योजना निर्माणको लागि जियो सर्भिस नेपाल परामर्श सेन्टर ललितपुर छनोट भएको छ । परामर्शदाता कम्पनीले निर्माण गरेको प्रारम्भिक खाकाको विषयमा गाउँपालिकाका प्राविधिक कर्मचारीसँग छलफल तथा सुझाव सङ्कलन गरिएको छ । क्रमशः जनप्रतिनिधि र अन्य विज्ञ समूहसँग छलफल गरी प्राप्त सुझावलाई समावेश गरी अन्तिम प्रतिवेदन पालिकालाई बुझाउने उक्त परामर्श सेन्टरले जनाएको छ ।

संक्षिप्त भौतिक पूर्वाधार विकास योजनाभित्र आगामी पाँच वर्षमा गाउँपालिकाको कुन ठाउँमा कस्ता पूर्वाधार निर्माण हुन्छन् भन्ने यकिन हुने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । ‘यो योजना भूउपयोग योजनाजस्तै हो, बस्ती आवास, औद्योगिक, व्यापारिक क्षेत्र निर्धारण हुने र पाँच वर्षमा एकीकृत विकास गर्न सकिने योजना समावेश हुनेछन्’, उनले भने, ‘पालिकाभित्र अब बनाउनुपर्ने सडक, अस्पताल, स्वास्थ्यचौकी, खेलमैदान, बसपार्क, आश्रयस्थल, विद्यालयको पहुँच मार्ग निर्माणलगायतका विषय योजनामा समावेश हुनेछन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस