समानुपातिकमा पुरुष सांसद छान्न काँग्रेसभित्र रस्साकस्सी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

समानुपातिकमा पुरुष सांसद छान्न काँग्रेसभित्र रस्साकस्सी


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद छान्न गृहकार्य भइरहेको छ । शनिबार दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट काँग्रेसले ९६ जना समानुपातिक सांसदको टुङ्गो लगाउने छ ।

प्रतिनिधिसभाका ३२ र सातै प्रदेशका ६४ जना सांसद छान्न आज (शुक्रबार) काँग्रेसमा आन्तरिक छलफल भएको छ । शुक्रबार दिउँसो शेखर कोइराला समूहले आन्तरिक छलफल गरेर पार्टी सभापति शेरबहादुर देउवालाई भेटेको छ ।

समानुपातिक सांसद चयनबारे महिलाका सन्दर्भमा समस्या नभए पनि ७ जना पुरुषका हकमा समस्या देखिएको छ । प्रतिनिधिसभाका ३२ सिटमध्ये काँग्रेसले ३ जना पुरुष सांसद पठाउँदै छ । खस-आर्य, आदिवासी जनजाति (आज), मधेसी, दलित, थारु र मुस्लिम क्लस्टरको पहिलो नम्बरमा रहेका पुरुष उम्मेदवारबीच सांसद बन्न रस्साकस्सी चलिरहेको छ ।

क्रमशः डा.प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, जीवन परियार, योगेन्द्र चौधरी, फरमुल्लाह मन्सुरमध्ये तीन जना छान्न काँग्रेसमा मुख्य सकस देखिएको छ । महत, श्रेष्ठ र निधिलाई सांसद बनाउन सभापति देउवाको तयारी छ भने शेखर कोइराला पक्षले परियारका लागि अडान लिएको छ । तीन जनामध्ये एक जना आफ्नो पक्षको हुनुपर्ने भन्दै परियारलाई सांसद बनाउन कोइराला पक्षले देउवालाई भेटेरै दबाब दिएको छ । काँग्रेस महामन्त्री गगन थापाले समावेशीको कुरा संविधान, ऐन, नियम, कानुन सबै ठाउँमा दलितबाट सुरु हुने बताए ।

यसरी जाँदा प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ र प्रदेशसभा समानुपातिकतर्फ ६४ सिटमा सांसद छान्न सहज हुने उनको तर्क छ ।

काँग्रेसले ११० उम्मेदवारमध्ये ३२ जना छनोट गरी निर्वाचन आयोगमा बुझाउने छ । काँग्रेसले समानुपातिकमा प्रदेश १ मा १२, मधेस प्रदेशमा ९, बागमती प्रदेशमा १२ गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ सिट पाएको छ ।

प्रदेश १ मा ३७ उम्मेदवारमध्ये काँग्रेसले १२ जना छनोट गर्ने छ भने मधेस प्रदेशका ४३ उम्मेदवारमध्ये ९ जना सांसद बन्ने छन् । बागमती प्रदेशका ४४ जना उम्मेदवारबाट काँग्रेसले १२ जना छान्दा गण्डकी प्रदेशका २४ जना उम्मेदवारमध्ये ९ जना सांसद चयन हुने छन् ।

लुम्बिनी प्रदेशका ३५ जना उम्मेदवारबाट काँग्रेसले १० जना सांसद छान्ने छ भने कर्णालीका १६ जना उम्मेदवारबाट ५ जना सांसद हुने छन् । यस्तै सुदूरपश्चिम प्रदेशका २१ जना समानुपातिक उम्मेदवारमध्ये काँग्रेसले ७ जना चयन गर्नेछ ।

प्रदेशसभामा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व पुर्‍याउनुपर्ने भएकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा काँग्रेसबाट एक जना पनि पुरुष समानुपातिक सांसद बन्ने अवस्था छैन । गण्डकीमा १८, कर्णालीमा ९ र सुदूरपश्चिममा १२ जना पुरुष प्रत्यक्षमा निर्वाचित भएपछि समानुपातिकतर्फ उम्मेदवार बनेका पुरुषको सांसद बन्ने यात्रामा ब्रेक लागेको हो । यी तीन प्रदेशमा रोलक्रम अनुसार महिला उम्मेदवार मात्र सांसद बन्ने हुँदा खासै समस्या छैन ।

प्रदेश १, मधेस, बागमती र लुम्बिनीमा भने काँग्रेसबाट एक-एक जना पुरुष समानुपातिक सांसद बन्ने अवस्था छ । खस–आर्य, आदिवासी जनजाति, दलित, मधेसी, थारु, मुस्लिम र पिछडिएका क्षेत्र गरी ७ वटा क्लस्टरको पहिलो नम्बरमा रहेकामध्ये एक जना पुरुष सांसद बन्ने छन् ।

सबै प्रदेशमा सातै क्लस्टरमा संस्थापन पक्षका पुरुष उम्मेदवार पहिलो नम्बरमा छन् । यहाँ सभापति देउवाले चाहेको उम्मेदवार सांसद बन्ने छ ।

प्रदेश १ को पुरुषतर्फ क्लस्टरको १ नम्बरमा रहेअनुसार खस-आर्यबाट उद्धव थापा, आदिवासी जनजातिबाट मोहन महर्जन, दलितबाट रोहित विश्वकर्मा थारुबाट वीरेन्द्र कुमार माझी र मधेसीबाट हरिलाल मेहतामध्ये एक जना सांसद छान्नुपर्ने छ ।

यस्तै मधेस प्रदेशको पुरुषतर्फ क्लस्टर खस-आर्यबाट रमेश प्रसाद खरेल, आदिवासी जनजातिबाट मनहरी श्रेष्ठ, थारुबाट वीरेन्द्रप्रसाद पनुहर, दलितबाट शिव हजारी, मधेसीबाट कुमार कान्त झा र मुस्लिमबाट मोख्तार अहमदको नाम १ नम्बरमा छ । उनीहरूमध्ये एक जना मात्र सांसद बन्ने देखिन्छ ।

बागमती प्रदेशमा कलस्टरको पुरुषतर्फ पहिलो नम्बरमा रहेका खस-आर्य शिवराज अधिकारी, आदिवासी जनजातिबाट राजु श्रेष्ठ र दलितबाट गोपाल विश्वकर्मामध्ये एक जना सांसद बन्ने छन् ।

यसैगरी लुम्बिनी प्रदेशमा क्लस्टरको पुरुषतर्फ पहिलो नम्बरमा रहेका खस-आर्यबाट राजेश आचार्य, आदिवासी जनजातिबाट गोपाल घर्ती, थारुबाट देवीप्रसाद चौधरी, दलितबाट लोकेन्द्रबहादुर बिक, मधेसीबाट राधेश्याम पाठक र मुस्लिमबाट मोहम्मद नकी खाँमध्ये एक जना मात्र सांसद बन्ने छन् ।

कोइराला पक्षले प्रतिनिधिसभातर्फ परियारका लागि दबाब बढाए पनि प्रदेशसभातर्फ चासो राखेको छैन । देउवा पक्षले प्रदेशका सबै क्लस्टरको पहिलो नम्बरमा आफू पक्षका नेताको नाम राखेकाले कोइराला पक्षले चासो नराखेको बुझिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस