काठमाडौँवासीलाई बाह्रै महिना पानी खुवाउने मन्त्री चौधरीको प्रतिबद्धता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँवासीलाई बाह्रै महिना पानी खुवाउने मन्त्री चौधरीको प्रतिबद्धता


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायीरूपमा भए पनि काठमाडौँवासीलाई बाह्रै महिना पानी खुवाउने प्रतिबद्धता जनाएका छन् ।  

आज शुक्रवार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले काठमाडौँवासीलाई अस्थायीरूपमा भए पनि पानी खुवाउने प्रतिबद्धता जनाएका हुन् । उनले मेलम्चीको पानीको दीर्घकालीनरूपमा स्थायी समस्या समाधानका लागि एसियाली विकास बैङ्क (एडिबी) ले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिँदै मेलम्ची खानेपानीको संरचना सुरक्षा गर्दै स्थायी समाधान खोज्नेतर्फ सरकार लागेको बताए । 

मन्त्री चौधरीले विज्ञहरूले दिएको सुझाव र एडिबीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा बाह्रै महिना नै काठमाडौँवासीलाई पानी खुवाउन सकिने उल्लेख गरे। उनले काठमाडौँवासीलाई बारम्बार मेलम्चीकै पानीका लागि पर्खिनुपर्ने बाध्यता हटाउनका लागि सरकारले मेलम्चीको विकल्पको रूपमा वर्षाको बेलामा बाग्मतीको पानी ल्याएर मेलम्चीकै ‘ट्रिटमेन्ट प्लान’ मा जम्मा गरिएको, याङ्ग्री र लार्केको योजना पनि अध्ययन गरी अघि बढाएको साथै सिस्नेरी र ठोस्ने खोलाको कार्ययोजना बनिसकेको तथा काम पनि भइरहेको बताए ।

मन्त्री चौधरीले आउँदा दिनमा काठमाडौँमा पानी व्यवस्थापन गर्न अन्य ठाउँको विकल्प दिनसके काठमाडौँवासीले कसैको मुख हेर्न नपर्ने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस