इरानमा एक प्रदर्शनकारीलाई मृत्युदण्ड « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इरानमा एक प्रदर्शनकारीलाई मृत्युदण्ड


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ । सरकारविरुद्ध हालै भएका विरोध प्रदर्शनको क्रममा अभियोग लगाइएका एक प्रदर्शनकारीलाई इरानमा मृत्युदण्ड दिइएको छ । 

सरकारी सञ्चार माध्यमका अनुसार एउटा क्रान्तिकारी अदालतले ‘अल्लाहविरुद्ध शत्रुता’ देखाएको अभियोगमा दोषी ठहर भएका मोसिन सेकारीलाई बिहीबार बिहान फाँसी दिएको हो । हालै भएको प्रदर्शनमा संलग्न प्रदर्शनकारीलाई दिइएको यो पहिलो मृत्युदण्ड हो । 

गत २५ सेप्टेम्बरमा राजधानी तेहरानको प्रमुख मार्गमा अवरोध गरेको र अर्धसैनिक बासिज फौजका एकजना सदस्यलाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा मोसिनलाई ‘दंगाबाज’को अभियोग लगाउँदै मृत्युदण्ड सुनाइएको थियो । एक अभियन्ताले उनलाई नाममात्रको देखावटी मुद्दा चलाएर अभियुक्त साबित गरिएको गुनासो गरेका छन् । 

नर्वेस्थित इरान मानव अधिकार समूहका निर्देशक माहमुद आमिरी-मोघादामले ट्विट गर्दै भनेका छन्, “इरान सरकारमाथि अन्तर्राष्ट्रिय जगतले तत्काल व्यवहारिक परिणाम सामना गर्नुपर्ने भन्दै दबाब नदिएको खण्डमा दिनहुँजसो प्रदर्शनकारीलाई मृत्युदण्ड दिइने कार्य सुरु हुनेछ ।”

इरानको न्यायालयले अहिलेसम्म सेप्टेम्बरको मध्यदेखि सुरु भएको सो विरोध प्रदर्शनको सिलसिलामा ११ प्रदर्शनकारीलाई मृत्युदण्ड सुनाइएको घोषणा गरेको छ । 

हिजाब नलगाएको आरोपमा ‘नैतिकता प्रहरी’द्वारा पक्राउ गरिएकी २२ वर्षीया माहसा आमिनीको हिरासतमै मृत्यु भएपछि प्रदर्शन सुरु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस