उपेन्द्रजीले चार हजार मत सिधै सूर्यमा हाल्न लगाउनु भयो, त्यही भएर म हारेँ : विजयकुमार गच्छदार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपेन्द्रजीले चार हजार मत सिधै सूर्यमा हाल्न लगाउनु भयो, त्यही भएर म हारेँ : विजयकुमार गच्छदार


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले पछिल्लो चुनावले राजनीतिक अस्थिरताको सङ्केत गरेको बताएका छन्।

उनले काँग्रेस र नेकपा एमाले मिलेर देशलाई स्थिरता दिनुपर्ने बताए।

सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीसँग प्रतिनिधि सभा चुनाव हारेका गच्छदारले अस्थिरताको चिन्ता लागेकोले अब काँग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए।

‘कसैको पनि बहुमत आएन। अस्थिरताको चिन्ता बढेको छ। यस्तो अवस्थामा काँग्रेस र एमाले मिलेर सरकार बनाए भने म खुसी हुनेछु,’ गच्छदारले भने।

आफू काठमाडौँ फर्केपछि काँग्रेस र एमालेको सरकार बनाउन पहल थाल्ने उनले बताए। उनले प्रधानमन्त्री भने अब पनि काँग्रेस सभापति शेरबहादुर देउवा नै हुने बताएका थिए।

‘पुस्तान्तरण प्राकृतिक कुरा हो, हुँदै जान्छ। तर अहिले सभापति शेरबहादुर देउवाजीले नचाहेसम्म पुस्तान्तरण सम्भव छैन,’ उनले भने।

आफूले चुनाव हारेकोबारे प्रसङ्ग निकाल्दै गच्छदारले जसपा अध्यक्ष उपेन्द्र यादवले चार हजार मत सूर्यमा हाल्न लगाएको बताए। ‘म तीन हजार मतले पराजित भए। उपेन्द्रजीले चार हजार मत सिधै सूर्यमा हाल्न लगाउनु भयो। त्यही भएर म हारेँ,’ उनले भने। जसपा र एमालेबीच चुनावी तालमेल थियो।

Tags :
प्रतिक्रिया दिनुहोस