मेलम्चीको पानी काठमाडौँ उपत्यकामा शुक्रबारदेखि वितरण हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मेलम्चीको पानी काठमाडौँ उपत्यकामा शुक्रबारदेखि वितरण हुने


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ । मेलम्ची आयोजनाले उपत्यकाको काठमाडौँ, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा पानी वितरण गर्ने भएको छ । सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानमा गत जेठमा बन्द गरिएको सुरुङको मुखबाट ११ दिनअघि मेलम्ची खोलाको पानी प्रवेश गराइएको थियो । बाढीले मुहान क्षति गर्ने सम्भावनाका कारण सुरुङको मुख बन्द गरिएको थियो । 

मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार गत १८ गते काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा झरेको पानी वितरण गर्न लागिएको हो । प्रशोधित पानी बिहीबार बेलुकी महाङ्कालस्थित रिजर्भ ट्याङ्कीमा पठाउने योजना रहेको छ । 

शुक्रबार बिहान पानी औपचारिक घर-घरको धारहरूमा पठाइनेछ । पानी सबै स्थानमा भने एकै पटक पठाइने छैन । सुन्दरीजलमा प्रशोधित पानी दुई करोड १० लाख लिटर स्टोर गर्ने क्षमता रहेको छ । यसको व्यवस्थापन भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले गर्नेछ । उपत्यकाको आरुवारी, जगडोल, बासबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर र भक्तपुरको कटुन्जेलगायतका स्थानमा पानीको रिजर्भ गरेर वितरण गर्ने संरचना रहेको छ ।

शुक्रबार बिहान खानेपानी मन्त्री उमाकान्त चौधरीको उपस्थितिमा पानी वितरण सुरु गर्ने जानकारी कार्यकारी निर्देशक श्रेष्ठले दिए । २०७८ असारको बाढीले क्षतविक्षत भएको मेलम्चीको हेडवर्क्सलाई अस्थायी रूपमा व्यवस्थापन गरेर पानी ल्याइएको हो । हेडवर्क्सलाई स्थायी संरचनाको रूपमा कसरी निर्माण गर्ने योजना बनिसकेको छैन । हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ ल्याउने तयारी छ । यसपछि दोस्रो फेजमा सिन्धुपाल्चोककै याङ्ग्री र लोर्के खोलाबाट १७/१७ करोड लिटर पानी राजधानी ल्याउने योजना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस