मधेशका मुद्दामा मिलेर जान उपेन्द्र यादवलाई सीके राउतको प्रस्ताव « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मधेशका मुद्दामा मिलेर जान उपेन्द्र यादवलाई सीके राउतको प्रस्ताव


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले मधेस केन्द्रित दुई दलका अध्यक्षलाई भेटेर मधेशको मुद्दामा मिलेर जानुपर्ने प्रस्ताव गरेका छन् ।

अध्यक्ष राउतले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेका थिए । राउतले सप्तरी क्षेत्र नम्बर २ मा आफैले मंसिर ४ मा हराएका जसपा अध्यक्ष यादवलाई उनकै निवास पुगेर भेटेका थिए ।

भेटमा अध्यक्ष यादवले राउतलाई जितको बधाई दिँदै मधेशको मुद्दामा प्रतिबद्ध भएर काम गर्न सुझाव दिएका थिए । अध्यक्ष राउतले मिलेर मधेशको हितमा काम गर्न अध्यक्ष यादवसँग प्रस्ताव गरेको पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए ।

एक-अर्काको सहयोगले मात्रै मधेशको मुक्ति सम्भव रहेको यादवसँग अध्यक्ष राउतले बताएका थिए । अध्यक्ष यादवले पनि मधेसीलगायत उत्पीडनमा परेका समुदायका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएका सिंहले बताए । बुधबारै राउतले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पनि भेटेका छन् ।

महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव विजेता ठाकुरलाई पनि राउतले बधाई दिए । सप्तरी २ बाट विजयी राउतलाई पनि ठाकुरले बधाई दिएका छन् । अध्यक्ष ठाकुरले मधेशका लागि थुप्रै काम गर्न बाँकी रहेको बताउँदै त्यसमा मिलेर काम गर्नुपर्ने बताएका थिए ।

अध्यक्ष राउतले पनि आफू सबै दलसँग मिलेर काम गर्न तयार रहेको बताएका थिए । उनले एक-अर्काको सहयोग मिलेमात्रै राम्रो हुने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस