सवारी कर्जालाई सरल र सस्तो बनाउन माग गर्दै व्यवसायी आन्दोलित « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सवारी कर्जालाई सरल र सस्तो बनाउन माग गर्दै व्यवसायी आन्दोलित


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ । सवारीसाधन व्यवसायीहरूले माइतीघर मण्डलामा धर्ना दिएका छन् । बिहीबार नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा अटो व्यवसायीहरूले सवारी साधनहरूको आयात खुलेपनि राष्ट्र बैङ्कको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको बताए ।

उनीहरूले सरकारसँग व्यवसायीमैत्री नीति ल्याउन पनि माग गरेका छन् । अटो व्यवसायीहरूले अगाडि सारेका मागहरू सरकार र राष्ट्र बैङ्कले पूरा नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिए ।

धर्ना कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले सवारी आयात गर्न खुला भएपनि एलसी खोली गाडी आयात गर्न ५० प्रतिशत नगद मार्जिन कायम रहेकाले मार्जिन हटाउनु पर्ने बताए ।

गाडी आयात खुला गरेपनि ५० प्रतिशत मार्जिन, ५० प्रतिशतमात्रै फाइनान्सिङ गर्न पाइने व्यवस्थाले अटो व्यवसायीहरू मारमा परेको भन्दै उनले नगद मार्जिनलाई पुरानै अवस्थामा ल्याउनुपर्ने र ८० प्रतिशत फाइनान्सिङ गर्न बनाउनुपर्ने माग रहेको बताए ।

सरकारले गाडी आयात गर्न दिने निर्णय भएपनि प्रतिबन्ध गर्नुभन्दा पहिला लागू गरिएका सबै व्यवस्था हटाउनुपर्ने पनि बताए । सरकाले गाडीको आयात खुलेपनि अहिलेकै बैङ्क ब्याजदरमा कसैले गाडी खरिद नगर्ने उनको गुनासो छ ।

अध्यक्ष थापाले ब्याजदर उच्च रहेको र ५० प्रतिशत मात्रै फाइनान्सिङ हुने अवस्थामा गाडी बिक्री नै नहुने बताए । आयात खुल्ला भएपनि तत्काल गाडी ल्याउनसक्ने अवस्था नभएको बताए ।

अध्यक्ष थापाले शान्तिपूर्ण धर्ना तथा दबाब मुलुक कार्यक्रम गर्दा सरकारले अटो व्यवसायीहरूका मागलाई सम्बोधन नगरे थप आन्दोलन गर्ने चेतावनी दिए । उनले नाडाले अटो व्यवसायीहरूको हकहितको लागि चरणबद्ध आन्दोलन गरेको बताए ।

उनले सरकारको अटो व्यवसायीमैत्री नीति बनाउन नसक्दा गाडीका शोरुमहरुमा हुनुपर्ने व्यवसायीहरू सडकमा आउनुपर्ने अवस्था आएको बताए ।

राष्ट्र बैङ्कले बनाएका नीतिहरू व्यवसायीहरूले गरिखान दिन खालको नभएको भन्दै उनले बजारमा तरलता अभाव, ब्याजदर वृद्धि जस्ता समस्या भएको अवस्थामा सहुलियत दिनुपर्ने ठाउँमा व्यवसाय गर्ने वातावरण नदिएको गुनासो गरे ।

राष्ट्र बैङ्कले अटो क्षेत्रको कर्जामा जोखिम भारलाई १५० प्रतिशत पुर्‍याएको छ । व्यवसायीले पुरानै अवस्थामा अर्थात् ७५ प्रतिशत नै कायम गरिनुपर्ने माग गरेका छन् । कोभिड-१९ तथा आयात प्रतिबन्धका कारण लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने अटो व्यवसायीको माग छ ।

नेपाल राष्ट्र बैङ्कद्वारा जारी चालु पुँजी कर्जा मार्गदर्शन, २०७९ तत्कालका लागि स्थगित गर्न पनि उनीहरूको माग छ । शतप्रतिशत नगद मार्जिन र ५० प्रतिशत नगद मार्जिन राखेर प्रतित पत्र खोल्नुपर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने पनि माग अघि सारिएको छ ।

बैङ्कहरूको तरलता अभावलाई सहज बनाउन सिडी रेसियोलाई पुनरावलोकन गर्नुपर्ने, बैङ्कहरूबाट सवारी साधनको हायर प्रचेज लोन स्वीकृत भएपश्चात् जारी गरिने डेलिभरी ओर्डर (डीओ) बापतको भुक्तानी समयावधि सवारीसाधन बैङ्कको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनुपर्ने माग पनि छ ।

बैङ्कहरूबाट निजी सवारी साधनको हायर प्रचेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको हालको सीमा ५० प्रतिशतबाट वृद्धि गरी ७० प्रतिशत कायम गर्नुपर्ने, पुनर्कर्जा नवीकरण गर्ने म्याद एक वर्षको लागि थप गरिनुपर्ने, कोभिड तथा आयात प्रतिबन्धका कारण लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने माग रहेका छन् ।

‘जसले कर तिर्छ, उसैलाई पेल्छ, बैङ्कले अपमान गर्छ, सरकार ब्याजदर कहिले घट्छ’ जस्ता नारा लेखेका प्लेकार्ड बोकेर व्यवसायी आन्दोलित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस