वृहत् वामपन्थी एकता हुने गरेर मात्रै माओवादीसँग एकता हुन्छ : राजेन्द्र राई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वृहत् वामपन्थी एकता हुने गरेर मात्रै माओवादीसँग एकता हुन्छ : राजेन्द्र राई


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सचिव तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माओवादी केन्द्रसँग तत्काल पार्टी एकता नहुने बताएका छन् । आगामी ५ वर्षको अवधिमा एमालेसहितको वामपन्थी एकताको सम्भावना रहेको भएपनि माओवादीसँगको एकता तत्कालै नहुने उनले बताए । 

‘माओवादी र नेकपा एससँग मात्रै अहिले तत्कालै एकता हुँदैन,’ राईले भने, ‘वृहत् वामपन्थी एकता हुने अवस्था सिर्जना गरेर मात्रै एकता हुन्छ ।’ उनले तत्कालका लागि एमाले बाहेकको एकता हुने र अन्तिममा एमालेसँग पनि एकता हुनसक्ने बताए ।

उनले डाक्टर बाबुराम भट्टराईले भनेजस्तो कम्युनिस्टको झण्डा र सिद्धान्त छोडेर वृहत् एकता पनि नहुने बताए । 

प्रदेश १ का मुख्यमन्त्री समेत रहेका राईले संघमा गठबन्धनको सरकार बन्ने अवस्था रहेकोले प्रदेश १ मा पनि सोही सम्भावना रहेको बताए । 

उनले आफूले अब बन्ने प्रदेश १ को सरकारको मुख्यमन्त्रीमा दाबी नगर्ने पनि बताए । 

प्रदेश १ मा ९३ सांसद मध्ये नेकपा एससँग चार जना सांसद छन् । सबैभन्दा ठूलो पार्टी बनेको नेकपा एमालेसँग ४०, नेपाली काँग्रेससँग २९, नेकपा माओवादी केन्द्रसँग १३, राप्रपासँग ६ तथा जनता समाजवादी पार्टीसँग १ जना सांसद हुने देखिएको छ । सरकार निर्माणका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । सत्ता गठबन्धन घटक दलहरू काँग्रेस, माओवादी, नेकपा एस र जसपाको जोड्दा ४७ संख्या पुगेपनि जसपाले एमालेसँग चुनावी सहकार्य गरेको कारण औपचारिक समर्थन कसलाई गर्छ भन्ने खुलिसकेको छैन । 

Tags :
प्रतिक्रिया दिनुहोस