चर्को ब्याज असुलेको आरोपमा लघुवित्त संस्थाविरुद्ध कैलालीमा ऋणीहरू आन्दोलित  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चर्को ब्याज असुलेको आरोपमा लघुवित्त संस्थाविरुद्ध कैलालीमा ऋणीहरू आन्दोलित 


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ । कैलालीमा लघुवित्त वित्तीय संस्थाहरुविरुद्ध ऋणीहरू आन्दोलित भएका छन् । लघुवित्त वित्तीय संस्थाहरूले चर्को ब्याज असुलेर दुःख दिएको उनीहरूको आरोप छ ।

गौरीगङ्गा नगरपालिका क्षेत्रमा सक्रिय भएका लघुवित्त वित्तीय संस्थाहरूले गैरकानुनी रूपमा १८ प्रतिशतसम्म ब्याज असुल्न थालेको ऋणीहरुको आरोप छ ।

नगरपालिकाका सबै वडामा हस्ताक्षर सङ्कलन गर्दै लघुवित्त संस्थाको खारेजीको माग पनि उनीहरूले गरेका छन् । गाउँमा पुगेर बचत समूह गठन गर्दै लगानी गर्ने लघुवित्त वित्तीय संस्थाले मनलाग्दी रूपमा ब्याज लिन थालेपछि मर्कामा परेको गौरीगङ्गा नगरपालिका-४ की वासुदेवी सुनारले गुनासो गरिन् ।

लघुवित्त सहकारीले वार्षिक १८ प्रतिशतसम्म ब्याजमा ऋण दिने गरेका छन् । उनले ब्याज चर्को हुँदा लघुवित्तबाट लिएको ऋण तिर्न महिलाहरूलाई निकै समस्या परेको बताइन् ।

ऋण तिर्न नसकेर कतिपय डिप्रेसनको सिकार भएर आत्महत्या गर्ने सम्मको अवस्था सिर्जना भएको बताउँदै उनले महिला सशक्तिकरणका लागि भनेर आएका लघुवित्तहरूले घरबार विहीन बनाउने काम गरेको आरोप पनि लगाइन् ।

अर्का स्थानीय नरे सुनारले आर्थिक समस्याका कारण लघुवित्तबाट ब्याजमा पैसा लिने गरेको तर लघुवित्तले ऋण लगानी गर्ने बेलाको भन्दा फरक व्यवहार देखाउँदै अनावश्यक दुःख दिने गरेको बताए ।

गौरीगङ्गा नगरपालिका-४ की एकल महिला इन्द्रकला कुँवरले बुहारीले लघुवित्तले गाउँमा गठन गरेका महिला समूहबाट लिएको एक लाख रुपैयाँ ऋण तिर्न नसक्दा ब्याज मात्र ८० हजार पुगेको सुनाइन् । आफू र बुहारीले समूहबाट लिएको ऋण तिर्न नसकेपछि ५ कठ्ठा जग्गा लिलाम भएको बताइन् ।

स्थानीयकाअनुसार चौमाला क्षेत्रमा कार्यालय स्थापना गरेर बसेका फवार्ड माइक्रो फाइनान्स, किसान बहुउद्देश्यीय, युनिक नेपाल, छिमेकी लघुवित्त वित्तिय संस्थाहरूले गाउँ-गाउँमा पुगेर महिला समूहहरु गठन गर्ने गरेका छन् । सोही समूह मार्फत समुदायमा लगानी गर्दै आएका लघुवित्तहरूले बचत गर्दा ८ प्रतिशतसम्म ब्याज दिने गरेका छन् भने ऋण लिनेहरुबाट १८ प्रतिशतसम्म ब्याज लिँदै आएका छन् ।

वित्तीय संस्थाहरूले चर्को ब्याज असुल्न थालेपछि ऋणीहरू मर्कामा परेको र घरबास विहीन हुने अवस्थामा आएको भन्दै स्थानीय युवा सुवास कुँवरको नेतृत्वमा ऋणीहरू आन्दोलित भएका छन् । कुँवरले लघुवित्त संस्थाहरूले चर्को ब्याज लिएर स्थानीयलाई ऋणी बनाउने काम गरेको भन्दै त्यसविरुद्ध हस्ताक्षर संकलनदेखि अन्य दबाबमूलक कार्यक्रम गरिरहेको बताए ।

तर लघुवित्त वित्तीय संस्थाहरूले भने राष्ट्र बैङ्कले निर्धारण गरेको सीमा भित्र रहेर समुदायमा लगानी गर्ने गरेको बताउँदै जथाभाबी रूपमा ब्याज नलिएको दाबी गरेका छन् ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाकी प्रमुख गोमती जोराले यसअघि ऋण लगानी गर्दा अग्रिम शुल्क लिने गरेकोमा अहिले उक्त व्यवस्था नरहेको बताइन् । १।५ प्रतिशत सेवा शुल्क र ०.४९ प्रतिशत बीमा शुल्क भनेर लिने गरेको बताउँदै उनले सम्बन्धित व्यक्तिकै इच्छाअनुसार रकम लिने गरेको बताइन् । बचतकर्ता र ऋणीहरूकै सहमतिअनुसार कर्जा परिचालन गर्ने गरेको उक्त संस्थाको भनाइ छ ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था चौमाला शाखाका प्रमुख हरिप्रसाद जोशीले १८ देखि २० प्रतिशतसम्म ब्याज लिने कुराको आरोपमा सत्यता नरहेको बताए । उनले राष्ट्र बैङ्कले निर्धारण गरेको सीमा भित्र रहेर कर्जामा साढे १३ देखि १५ प्रतिशतसम्म र ६ देखि साढे ७ प्रतिशतसम्म ब्याज लिने/दिने गरिएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस