तयार भयो वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने कार्यविधि  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

तयार भयो वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने कार्यविधि 


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने कार्य विधि तयार भएको छ ।

कार्यविधि सामाजिक सुरक्षा कोष सञ्चालक समितिले स्वीकृति गरिसकेको र श्रम मन्त्रालयबाट स्वीकृतिको चरणमा रहेको सामाजिक सुरक्षा कोषले जनाएको छ । श्रम मन्त्रालयले स्वीकृति गरेको तीन महिनामा यो कार्यविधि कार्यान्वयनमा आउने कोषका सह प्रवक्ता रोहित रेग्मीले जानकारी दिए । 

योसँगै स्वरोजगार र अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि कोषमा आबद्ध गर्ने कार्यविधि पनि कोष सञ्चालक समितिले स्वीकृति गरिसकेको उनले बताए । 

कार्यविधिले वैदेशिक रोजगारीमा रहेकाहरूले महिनाको करिब २ हजार रुपैयाँ बराबर रकम योगदान गरेर सामाजिक सुरक्षा कोषमा सहभागी भई विशेष गरी औषधी उपचार, दुर्घटना, आश्रित परिवार योजना लगायतका सेवा लिन सक्छन् । वृद्ध अवस्था योजनामा पनि स्वैच्छिक रूपमा अतिरिक्त रकम जम्मा गरेर पनि सहभागी हुन सकिने व्यवस्था कार्यविधिले गरेको छ । 

कार्य विधिले वैदेशिक रोजगारीमा रहेका, श्रम स्वीकृति लिएर विदेशमा गई स्वरोजगार भएका र नयाँ जानेहरूका लागि विशेष गरी दुई मोडलको परिकल्पना गरेको छ । 

सह प्रवक्ता रेग्मीका अनुसार गन्तव्य देशमै रहका सामाजिक सुरक्षा प्रदायक संस्थाहरूसँग कोषले दुई पक्षीय सम्झौता गरेर त्यहाँबाट प्रदान हुने सामाजिक सुरक्षाका कार्यक्रम त्यही प्रदान गर्ने र त्यहाँबाट नमिल्ने खालका सेवाहरू चाहिँ यहीबाट प्रदान गर्ने कुरा कार्यविधिमा गरिएको छ । 

यस्तै वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई नेपालबाट नै विदेश जाने बेलामा सामाजिक सुरक्षा नम्बर दिएर पठाउने र उसले मासिक वा वार्षिक रूपमा एकमुष्ट रकम कोषमा जम्मा गर्ने व्यवस्था गर्ने गरी पनि कार्यविधिमा व्यवस्था गरिएको छ ।

तर अहिले भएका यी व्यवस्थाहरूमा श्रम मन्त्रालयले कार्यविधि स्वीकृति गर्दा केही परिवर्तन गर्न सक्ने सम्भावना भने रहन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस