मेयरकै घरमा महानगरले चलायो डोजर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मेयरकै घरमा महानगरले चलायो डोजर


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ । विराटनगर महानगरपालिकाले मेयर नागेश कोइरालाको घरमा डोजर चलाएको छ । विराटनगर–९ जलजला रोडस्थित कोइरालाको घरमा अनुमति विना निर्माण भएको संरचना हटाउन महानगरले डोजर चलाएको हो ।

मेयर कोइरालाले भाडामा लगाएको सटरमा निर्माण भएको संरचना डोजर प्रयोग गरेर हटाएको महानगरपालिकाले बताएको छ । भाडामा लिने व्यापारीले बनाएको संरचना अवैधानिक भएको महानगरपालिकाको भनाइ छ ।

विराटनगर महानगरपालिकाले सडकमा निर्माण गरिएको संरचना हटाउन ३५ दिने सूचना निकालेको थियो । तर अटेर गरेपछि मेयर कोइरालाकै घरबाट अवैध संरचना हटाउने अभियानको सुरुवात गरेको हो ।

नगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको नगर प्रहरीले पसल अगाडि निर्माण गरेको सेटब्याक र सटमा झुण्ड्याइएका होडिङ बोर्डसमेत हटाएको थियो ।

विराटनगरलाई व्यवस्थित महानगरको अभियानअन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका अवधै संरचना हटाउन सुरु गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए ।

उनले विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा साथ दिन पनि आग्रह गरे ।

महानगरले बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

सार्वजनिक सूचना जारी र पटक–पटक माइकिङ गर्दा पनि व्यापारीहरूले अटेर गरेपछि महानगरले संरचना हटाउने अभियान सुरु गरेको हो ।

मेयर कोइरालाको घरमा सञ्चालित पसलका साथै महानगर कार्यालय अगाडि रहेका पसल, वडा नम्बर ९ को कार्यालय, बुधहाट चोकस्थित बि प्लटमा रहेका पसलमा निर्माण गरेको अवैध संरचना हटाइएको महानगरले जनाएको छ ।

अवैध संरचना हटाउने अभियानलाई हरेक दिन सञ्चालन गरिने नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस