जबरालाई ‘क्लिन चिट’ दिने महासचिवलाई कारबाही हुन्छ : देव गुरुङ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जबरालाई ‘क्लिन चिट’ दिने महासचिवलाई कारबाही हुन्छ : देव गुरुङ


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले संघीय संसद्का महासचिव भरतराज गौतमले संविधानको गम्भीर उल्लङ्घन गरेको बताएका छन् ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग महासचिव गौतमले बुधबार निष्प्रभावी भएको भन्दै ‘क्लिन चिट’ दिएका थिए । पूर्वकानुनमन्त्री समेत रहेका नेता देव गुरुङले संसद्को सार्वभौम अधिकार र गरेको निर्णयलाई एउटा कर्मचारीले निर्णयमा लैजान नसक्ने बताए ।

उनले भने, ‘महासचिव गौतमले निलम्बित प्रधानन्यायाधीशलाई दिएको पत्र संवैधानिक मान्यता विपरीत छ । संसद्को क्षेत्राधिकारको पनि हनन भएको छ । महाभियोगका बारेमा संविधानले किटानीका साथ प्रतिनिधि सभाले निर्णय गर्नुपर्ने भनेको छ । त्यसैले यो प्रकरण संविधानमाथिको हमलाको शृङ्खलाकै एउटा कडी हो भन्ने पनि लाग्छ ।’

उनले पुरानो प्रतिनिधि सभा नरहेको र नयाँ गठन भैनसकेको अवस्थामा महासचिवले जसरी पत्राचार गरेका छन् त्यो बेठीक मात्रै नभई संविधानमाथिको ‘कु’ नै भएको बताएका छन् ।

गुरुङले संविधानको उल्लङ्घन गरेकाले महासचिव गौतममाथि संसदले कारबाही गर्ने पनि बताए । उनले अगाडि भने, ‘उहाँलाई संसदले नै कारबाही गर्छ । संविधान उल्लङ्घन गरेको अवस्थामा महासचिव गौतमलाई कारबाहीको दायरामा ल्याउनै पर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस