मूल्य बढेपछि किसान तोरी खेतीतर्फ आकर्षित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मूल्य बढेपछि किसान तोरी खेतीतर्फ आकर्षित


२१ मंसिर २०७९, बुधबार


मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्या बढेको हो । तोरीको पकेट क्षेत्र मानिएको यस जिल्लामा अधिकांश स्थानमा अहिले तोरी फुलेको देख्न सकिन्छ ।

अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसान तोरी खेतीतर्फ आकर्षित भएका हुन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाबाट पश्चिममा विनयी त्रिवेणी गाउँपालिकासम्म तोरी खेतीको पकेट क्षेत्र मानिन्छ ।

वर्षौँदेखि तोरी खेती लगाउँदै आएकी देवचुली नगरपालिकाका सीता गौतमले घरमा वर्षभरि खान र केही बेच्न पनि पुग्ने गरी तोरी लगाएको बताइन् । ‘दुई-तीन वर्षदेखि गाउँघरमा पनि तोरीको माग बढेको छ’, उनले भनिन्, ‘घरका लागि पनि स्वस्थ तेल प्रयोगका लागि बर्सेनि खेती गरेकामा केही वर्षदेखि गाउँघरमै बिक्रीका लागि पनि धेरै लगाउने गरेका छौँ ।’कुखुराको मल प्रयोग गर्न थालेपछि तोरी राम्रो हुन थालेको उनको भनाइ छ ।

जिल्लाको कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोट नगरपालिका क्षेत्रलाई तोरीको पकेट क्षेत्र मानिन्छ । तर तोरी खेतीका लागि किसान आकर्षित भइरहँदा चुनौती र समस्या उत्तिकै रहेको गुनासो कायमै छ । बाली लगाउने सुरुआती दिनदेखि नै मल नपाएका किसान तोरी लगाउँदा समयमा मल उपलब्ध नहुनु नै मुख्य समस्याको रूपमा देखा परेको बताउँछन् ।

सरकारले मल आएको छ भने पनि समयमा मल नपाएको कृषक कल्पना भण्डारीले गुनासो गरिन् ‘अहिले तोरीको बजार खोज्नु नै पर्दैन, घरैबाट बिक्री हुन्छ’, उनले भनि, ‘खेती लगाउँदा मल नपाउने समस्याले कृषकलाई सधैँ पिरोल्ने गरेको छ ।’ धान रोप्ने समयमा मल नपाएका किसानले तोरी लगाउँदा पनि मलको अभाव झेलिरहेका छन् ।

नवलपरासी(बर्दघाट सुस्तापूर्व) मा दुई हजार तीन सय ३५ हेक्टरमा तोरी बाली लगाइएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शङ्कर पौडेलले बताए । ‘तोरी बाली लगाउन पनि सजिलो, खासै दुःख पनि नहुने भएकाले दुई वर्षदेखि जिल्लामा तोरीखोती फस्टाएको छ’, उनले भने, ‘तोरी खेती बढ्नुको मुख्य कुरा भनेको मूल्य बढ्दै जानु र बजारमा आएका तेलमा मिसावट भएका कारणले जिल्लामा तोरी खेती गर्नेतर्फ किसानको आकर्षण बढ्दै गएको हो ।’

पछिल्ला वर्षमा तोरीको भाउ किसानले राम्रै पाउन थालेका छन् । गाउँघरमा अहिले प्रतिक्विन्टल तोरीको मूल्य ११ हजारसम्म पर्ने गरेको छ । ८० देखि ९० दिनमा तोरी खेती तयार हुन्छ । आफैँले उत्पादन गरेको तोरीको तेल गुणस्तरीय हुने र पिनासमेत मलका रूपमा प्रयोग गर्न पाइने भएकाले पनि किसान तोरी खेतीप्रति आकर्षित हुँदै गएका जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस