प्रहरीद्वारा दूतावाससँग रवि लामिछानेको नागरिकता र पासपोर्टको विवरण माग  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रहरीद्वारा दूतावाससँग रवि लामिछानेको नागरिकता र पासपोर्टको विवरण माग 


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ । प्रहरीले काठमाडौँस्थित अमेरिकी दूतावासबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानीको विवरण माग गरेको छ।

लामिछानेको नागरिकता विवादबारे अनुसन्धान थालेको प्रहरीले लामिछानेले लिएको अमेरिकी नागरिकता र राहदानीबारे जानकारी माग गरिएको प्रहरीले जनाएको छ । 

लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवादलाई लिएर जिल्ला प्रशासन कार्यालय, काठमाडौँले यसअघि महानगरीय प्रहरी परिसरलाई पत्राचार गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई त्यसबारे पत्राचार गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई पत्र पठाएसँगै प्रहरीले लामिछानेबारे अनुसन्धान सुरु गरेको हो।

लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ। लामिछानेले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको तथ्य केही दिनअघि उकेरा डटकमले प्रकाशित गरेको थियो। 

उकेराका अनुसार लामिछानेले २०५० सालमा प्राप्त गरेको नागरिकता नै प्रयोग गरिरहेका छन्। उनले अमेरिकी नागरिकता लिएपछि पनि नेपाली नागरिकता त्यागेको देखिन्न। विदेशी नागरिकता लिने बित्तिकै नेपाली नागरिकता कायम रहन्न। विदेशी नागरिकता लिने भएपछि आफैँले नागरिकता त्याग्नुपर्छ। तर उनले निष्क्रिय भैसकेको नागरिकताका आधारमा २०१५ मै नेपाली पासपोर्ट लिएको देखिन्छ। 

लामिछानेले मंसिर ४ को चुनावमा पुरानै नागरिकताको प्रयोग गरी उम्मेदवारी दिएका थिए। 

यस विषयमा निर्वाचन आयोगमा पनि उनीविरूद्ध उजुरी परेको थियो। आयोगले स्पष्टीकरण सोध्दासम्म मतदान भइसकेको थियो।  

त्यसपछि उनीविरूद्ध गृह मन्त्रालयमा उजुरी परेको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस