अर्थतन्त्र जोगाउन नेतृत्वदायी भूमिका खेल्न ओली र प्रचण्डलाई महासङ्घको आग्रह « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

अर्थतन्त्र जोगाउन नेतृत्वदायी भूमिका खेल्न ओली र प्रचण्डलाई महासङ्घको आग्रह


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी मुलुकको अर्थतन्त्रको समस्या समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलले सोमबार एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेटेर आर्थिक क्षेत्रको असहजताबारे जानकारी गराएको हो ।

प्रतिनिधिमण्डलले अर्थतन्त्रमा अहिले बहुआयामिक असर परेको भन्दै मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले समेत समस्याको सम्बोधन गर्न नसकेको गुनासो गरेको थियो । आर्थिक व्यावसायिक क्षेत्रको विद्यमान समस्या समाधानमा सहयोग र समन्वय गरिदिन आग्रह नेताद्वयलाई आग्रह गरिएको महासङ्घले बताएको छ ।

भेटवार्तामा महासङ्घका अध्यक्ष गोल्छाले अर्थतन्त्रको संवेदनशीलता बुझिदिन आग्रह गरे । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै उनले मूल्यवृद्धि समेत सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजीक्षेत्र नै सङ्कुचित हुँदै गएको बताए ।

राजस्व समेत घटेर अर्थतन्त्रमा चाप परेका बेला लागू भएको चालु पुँजी कर्जा मार्गदर्शनले व्यवसायमा जटिलता थपेको उनले बताए । ब्याजदरको उतारचढाव, अन्तर्राष्ट्रिय स्तरमा बढेको इन्धन, कच्चा पदार्थ, लजिस्टिक र फ्रेस खर्चले गर्दा अनुमानित वित्तीय विवरण निर्धारण र चालू पुँजीको वास्तविक आवश्यक सीमा निर्धारणबीच तादात्म्य नमिल्ने उनको भनाइ छ ।

दक्षिण एसियामै नेपालको अन्तर्राष्ट्रिय व्यापारमा लाग्ने समय बढी भएर चौतर्फी समस्या भोगिरहेका बेला मार्गदर्शन तत्काल कार्यान्वयन गर्न नसकिने भएकाले कम्तीमा २ वर्ष स्थगन गर्न महासङ्घले माग गरेको छ ।

बैङ्क, वित्तीय संस्थाले दिने र लिने ब्याजदरबीचको अन्तरसम्बन्धमा मौद्रिक नीतिको समीक्षामार्फत गरिएको व्यवस्था चाँडै निर्देशिका बनाएर कार्यान्वयन गर्नुपर्नेमा पनि महासङ्घले जोड दिएको छ । महासङ्घले तत्काल बजारमा तरलता प्रवाह गर्ने र ब्याजदर घटाउने उपाय सरकार र केन्द्रीय बैङ्क दुवैले पहिल्याउनुपर्ने बताएको छ ।

पुस मसान्तमा पुनर्कर्जाबापतको करिब ६० अर्ब रुपैयाँ बैङ्क वित्तीय संस्थाबाट फिर्ता जाने र त्यसले तरलता अभावलाई थप गहिरो बनाउने भन्दै महासङ्घले कम्तीमा एक वर्ष पुनर्कर्जा नवीकरणको सुविधा दिइनुपर्ने बताएको छ । त्यसैगरी अनिवार्य नगद अनुपात (सीआरआर) लाई १ प्रतिशत विन्दुले कम गर्न, नीतिगत दर घटाउन र सरकारी ढुकुटीमा रहेको रकम प्रवाह गरी तरलता व्यवस्थापनका उपाय अवलम्बन गर्न महासङ्घले सुझाव दिएको छ । 

स्थानीय तहमा जाने रकमलाई निश्चित अवधिका लागि शतप्रतिशत गणना गर्ने व्यवस्था मिलाउन र सरकारको पुँजीगत खर्च बढाउनुपर्नेमा पनि महासङ्घको जोड छ । विदेशी लगानी बढाउन त्यस सम्बन्धमा बजेटमा उल्लिखित स्वचालित प्रक्रिया कार्यान्वयन गर्न तत्काल कार्यविधि बनाई लागू गर्नुपर्ने महासङ्घले बताएको छ ।

सो अवसरमा पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले अर्थतन्त्र संवेदनशील अवस्थामा रहेकोतर्फ आफू पनि चिन्तित भन्दै महासङ्घले राखेका सबै सुझावको सम्बोधन गर्न आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै माओवादी केन्द्रका अध्यक्ष दाहालले देशको आर्थिक अवस्था सहज बनाउन सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए । महासङ्घका सुझाव कार्यान्वयनमा आफ्नो विशेष सहयोग रहने विश्वास उनले दिलाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस