दार्चुलामा वर्षौँसम्मको यो निरीहताको कारण के ? « प्रशासन
Logo २१ माघ २०७९, शनिबार
   

दार्चुलामा वर्षौँसम्मको यो निरीहताको कारण के ?


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दार्चुलामा भारतको व्यवहारका कारण नेपालीले ज्यान गुमाउने र घाइते हुने भइरहँदा पनि सरकार निरीह भएको भन्दै आलोचना गरेका छन् । उनले यो निरीहता कहिलेसम्म भन्ने प्रश्न पनि गरेका छन् ।

महाकाली नदीको बहाव नेपालतर्फ आउने गरी पक्की संरचना बनाएको विरोध जनाउने क्रममा भारततर्फबाट आएको डुङ्गाले लागेर ४ जना नेपाली बालबालिका घाइते भएका थिए । विगतमा तुइन काटिँदा जयसिंह धामी महाकालीमा बेपत्ता भएको र सडक बनाउँदा विस्फोटबाट आएको डुङ्गाले लागेर ९ वर्षका पवन महराको मृत्यु भएको उदाहरण दिँदै सभापति लामिछानेले यस्तो अवस्थामा पनि नेपालको सरकार कहीँ कतै नदेखिएको बताए ।

उनले प्रश्न गरेका छन्, ‘वर्षौँको यो निरीहताको कारण के होला ? आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नुभन्दा अर्को महत्त्वपूर्ण कुरा के हुन्छ राज्यको ? आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तर्राष्ट्रिय सन्धि सम्झौताका पाना पाना पल्टाएर बुँदा बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ?’

लामिछानेले अगाडि भनेका छन्, ‘आफ्नो हक पाउनु भनेको कसैको विरोध गर्नु होइन, कसैसँग जोरी खोज्नु होइन भन्ने कूटनीति बनाउन के ले रोक्छ सरकारलाई ? राज्य यस्तो हुनु हुँदैन । सरकार अब यसरी चल्नु हुँदैन । यो निरन्तरको निरीहताको अर्थ अब खोज्नुपर्छ ।’

उनले नेपालको राष्ट्रिय राजनीतिमा नयाँ पुस्ताको आगमन भइसकेको भन्दै यस्ता समस्याका विषयमा नयाँ शिराबाट कुरा गर्न आह्वान गरेका छन् । ‘दार्चुलामा भेट्ने हो कि काठमाडौँमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौँ तर निरीहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन’ उनले भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस