सरकारमा जाने विषय प्राथमिकतामा राखेका छैनौँ : राजेन्द्र लिङ्देन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकारमा जाने विषय प्राथमिकतामा राखेका छैनौँ : राजेन्द्र लिङ्देन


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले सरकारमा जाने विषयलाई प्राथमिकतामै नराखेको बताएका छन्। 

उनले सरकारमा जाने प्राथमिकतामा नरहेको बताउँदै त्यसबारे कुनै छलफल अघि नबढेको बताएका हुन्। 

झापा-३ मा काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै संसद्मा दोस्रोपल्ट चुनिएका लिङ्देनकै नेतृत्वमा राप्रपा यसपटक राष्ट्रिय दल बनेको छ।

प्रत्यक्ष र समानुपातिकतर्फबाट सङ्घ र प्रदेशहरूमा पहिलेभन्दा धेरै सदस्य जिताएका कारण नयाँ सरकार गठनमा राप्रपा पनि निर्णायक अवस्थामा पुगेको छ। 

जसपा, माओवादी लगायतका दलहरूले सबै विकल्प खुला रहेको बताइरहेका बेला राप्रपा भने अहिलेसम्म रिजर्भ नै देखिएको छ।

‘सरकारमा जाने कुरा हाम्रो प्राथमिकतामै छैन,’अध्यक्ष लिङ्देनले भने, ‘जनमत हामीलाई विपक्षमा बस्नेगरी आएको छ। पहिले सबै नतिजा आओस् त्यसपछि पार्टीमा छलफल हुनेछ। तर, सरकार हाम्रो प्राथमिकतामा छैन।’ 

गृहजिल्ला झापामै रहेका उनले अब चुनावी गठबन्धन नै कायम रहन्छ कि रहन्न भन्ने सवालमा पनि प्रस्ट कुरा गर्न चाहेनन्।

‘सरकार प्राथमिकतामा नभएपछि यो बारे के गर्ने भन्ने कुरा पनि प्रस्ट भएको छैन,’ उनले भने, ‘अब नतिजा आइसकेपछि केन्द्रीय कार्यसमितिमा छलफल हुनेछ। त्यसपछि केही धारणा बन्ला।’

Tags :
प्रतिक्रिया दिनुहोस