लागुऔषध सेवन गरी सवारी साधन चलाउने ५ जनाको ५ दिन म्याद थप « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लागुऔषध सेवन गरी सवारी साधन चलाउने ५ जनाको ५ दिन म्याद थप


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गर्दा काठमाडौँको तार्केश्वर नगरपालिका ८ शेषमती पुलबाट शनिबार नियन्त्रणमा लिइएका ५ जना चालकविरुद्धमा आज लागुऔषध सेवनको कसुरमा दिन ५ (पाँच) म्याद थप गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र नेपाल प्रहरी अस्पताल महाराजगंजको संयुक्त टोलिले शेषमती पुल स्थित सडकमा सवारी साधन चेक तथा आवागमन व्यवस्थापन गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गरेको अवस्थामा ५ जना चालकलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए ।

जरङ्खुबाट शेषमतीतर्फ आउँदै गरेको बा ४८ प ६०२ नम्बरको स्कुटर, बा ९४ प ३१ ३३, बा ८५ प ४८ ५६ र बा ५२ प ६१ ३० नम्बरको मोटरसाइकलहरू रोकी चेक गर्दा क्रमशः कपिलवस्तुको चन्द्रौटा नगरपालिका ६ घर भई हाल काठमाडौँ महानगरपालिका १६ बस्ने २२ वर्षीय दिपेश सुनुवार, नुवाकोटको पकनी गाउँपालिका ६ घर भई काठमाडौँ महानगरपालिका ६ बस्ने २३ वर्षीय रोशन तामाङ, काभ्रेपलाञ्चोकको पाँचखाल घर भई तार्केश्वर नगरपालिका ४ बस्ने ३१ वर्षीय प्रलाद लामा र स्याङ्जाको दरौँ गाउँपालिका ७ घर भई काठमाडौँ महानगरपालिका १६ बस्ने २९ वर्षीय मोहन विक र सिन्धुलीको गौरीबास घर भई तार्केश्वर नगरपालिका ४ बस्ने २१ वर्षीय अमित थापा मगरलाई टि.एच.सी (टेट्राहाईड्रोक्यानाबिनोल) किटको प्रयोग गरी उनीहरूको पिसाब चेक गर्दा लागुऔषध सेवन गरेको पाइएको थियो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त बालाजुमा बुझाइएकोमा उनीहरू उपर लागुऔषध सेवन विरुद्धको कसुरमा आज दिन ५ (पाँच) म्याद थप भएको छ । ट्राफिक प्रहरीले गत साउन ९ गतेबाट सवारी साधनका चालकहरूले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सी. किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस