सुदूरपश्चिममा विद्युत् आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गर्दै प्राधिकरण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुदूरपश्चिममा विद्युत् आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गर्दै प्राधिकरण


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत् खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणाली सञ्जाल विस्तार गर्ने भएको छ ।

प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल सञ्चालनमा रहेका प्रसारण र वितरण प्रणालीका संरचनाको सुदृढीकरण र विस्तार गर्ने छ । दीर्घकालीन समस्या समाधान गर्न उच्च क्षमताका प्रसारण लाइनको निर्माण गरिने छ । गर्मीको समयमा कैलालीको अत्तरिया, टीकापुर धनगढी, कञ्चनपुरको महेन्द्रनगरलगायत सहरी क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङलगायतको समस्या रहेको उपभोक्ताको गुनासो आउने गरेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार त्यस क्षेत्रको स्थलगत अनुगमन भ्रमण गरी विद्युत् आपूर्ति सुधारका लागि गर्नुपर्ने कामका विषयमा जानकारी लिएको छ ।  

टोलीले नगरपालिका प्रमुख एवं उद्योग वाणिज्य सङ्घका प्रतिनिधिसँग छलफल गरेको थियो । टोलीले प्राधिकरणका सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा वितरण केन्द्र प्रमुखहरूसँग छलफल गरी गर्मी सुरु हुनुभन्दा पहिले नै विद्युत् आपूर्ति सुधारका सम्पूर्ण कार्य सम्पन्न गर्न र त्यसका लागि आवश्यक पर्ने बजेट तत्काल पेस गर्न निर्देशन दिएको छ । साथै सुदूरपश्चिमका जिल्लाको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी सोहीअनुसार काम गर्न निर्देशन दिएको छ । 

कार्यकारी निर्देशक घिसिङले कैलाली र कञ्चनपुर क्षेत्रको विद्युत् आपूर्तिको समस्यालाई समाधान गर्न तत्काल र दीर्घकालीन रूपमा गर्नु पर्ने कामका लागि टोली नै बनाएर अध्ययन भइरहेको बताए । 

हाल कालीगण्डकीको बिजुली लामो प्रसारण लाइनबाट यस क्षेत्रमा आपूर्तिका लागि ल्याउनुपर्ने बाध्यात्मक अवस्थाका कारण पनि समस्या आएको हो ।  यस वर्ष नै बझाङ, दार्चुलामा निर्माण भएका जलविद्युत् आयोजनाको करिब एक सय मेगावाट विद्युत् अत्तरिया सवस्टेसनमार्फत यस क्षेत्रमा वितरण गर्न सकिने हुँदा भोल्टेजको समस्या धेरै समाधान हुने विश्वास छ । उनले कर्णाली, सेती र महाकाली नदी जलाधार क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि चार सय केभीका प्रसारण लाइन निर्माण हुन लागेको बताए । 

लमही-छिन्चु, छिन्चु दोदोधारा, दोदोधार-नयाँ अत्तरिया (दैजी)चार सय केभी प्रसारण लाइन अध्ययनको क्रममा रहेका छन् । लमही, मातीपुर छिन्चु र नयाँ अत्तरियामा ४००/१३२ सबस्टेसन निर्माण गरिने छ । प्राधिकरण टोलीले प्रस्तावित प्रसारण लाइनको रुट तथा सवस्टेसन निर्माण गरी ठाउँ, सञ्चालित सवस्टेसन, निर्माणाधीन आयोजननाहरुको पनि अनुगमन गरेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस