अमृत साइन्स क्याम्पसका प्रमुखको राजीनामा माग गर्दै उपकुलपतिलाई विद्यार्थीको पत्र « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अमृत साइन्स क्याम्पसका प्रमुखको राजीनामा माग गर्दै उपकुलपतिलाई विद्यार्थीको पत्र


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) का क्याम्पस प्रमुख डा.लोकबहादुर बरालको राजीनामा माग गर्दै विद्यार्थीहरूले उपकुलपतिलाई पत्र बुझाएका छन् । क्याम्पसका ६२६ जना विद्यार्थीले हस्ताक्षर गरेर त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा.धर्मकान्त बाँस्कोटा र रेक्टर डा.शिवलाल भुसाललाई पत्र बुझाएका हुन् । 

डेढ वर्षदेखि क्याम्पसको नेतृत्व सम्हालेका क्याम्पस प्रमुख बराल क्याम्पस समेत नआउने गरेको उनीहरूको आरोप छ । क्याम्पस प्रशासनको सामान्य कामका लागि सहजीकरण गर्न नसकेको, क्याम्पसमा नियमित र कार्यालयमा समयमै उपस्थित नभएको उनीहरूको आरोप छ । 

क्याम्पसमा भएका कक्षाकोठा व्यवस्थापनका समस्या, प्रयोगशाला र पुस्तकालय पुनर्निर्माण एवं व्यवस्थापनका समस्याका विषयमा विद्यार्थीहरूले समेत पटक पटक जानकारी गराउँदा र दबाब दिँदा समेत कुनै सुनुवाइ नगरेको उनीहरूको आरोप छ ।

कर्मचारीहरूबीच समन्वय र सहकार्य गर्न नसकेको, क्याम्पसको दिगो विकासका निम्ति कुनै पनि योजनाबद्ध रूपले कार्य गर्न नसकेको निष्कर्ष आफूहरूले निकालेको उनीहरूको भनाई छ ।  क्याम्पसको नेतृत्व सम्हाल्न नसक्दा स्वःस्फूर्त रूपमा राजीनामा माग गर्दा समेत राजीनामा दिन अस्वीकार गरेको भन्दै उनको राजीनामा गर्न सहजीकरण गरिदिन भन्दै उपकुलपति र रजिष्ट्रारलाई पत्र बुझाएका हुन् । 

पत्र बुझ्दै उपकुलपति बाँस्कोटाले विद्यार्थीका मागका विषयमा आफूहरू सकारात्मक रहेको प्रतिक्रिया दिए । विद्यार्थीले राखेका मागका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए । 

क्याम्पस प्रमुख बरालले यसअघि क्याम्पसका आन्तरिक विषयहरू सञ्चारमाध्यममा सार्वजनिक गरेको भन्दै सहायक क्याम्पस प्रमुख रबिन्द्रसिंह महतलाई स्पष्टीकरण सोध्नुका साथै सहायक क्याम्पस प्रमुखको जिम्मेवारी खोसेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस