माओवादीको पदाधिकारी बैठक सकियो, के भयो छलफल ?  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

माओवादीको पदाधिकारी बैठक सकियो, के भयो छलफल ? 


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले अहिले सरकारको विकल्प नखोजिएको स्पष्ट पारेको छ ।

पार्टी पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले पत्रकारहरूसँग कुरा गर्दै अहिले यो गठबन्धनको विकल्प नखोजिएको स्पष्ट पार्दै एमालेसँग सहकार्यको कुनै तयारी नभएको बताए ।

“अपेक्षाकृत परिणाम नआए पनि गठबन्धन सफल भएको छ,” बैठकपछि उनले भने, “निर्वाचनमा थोरै यताउता भयो होला । यसलाई स्वीकार गरेर अघि बढ्नुपर्छ । हाम्रा आफ्नै कमी कमजोरी र सीमा पनि रहे होलान् । आगामी दिनमा सुधार गर्दै गएर पार्टीलाई सुदृढ गर्दै अघि बढ्नुपर्छ भन्ने छ । निर्वाचनसँग सम्बन्धित विषयमा कुराकानी भएको छ ।”

उनले पार्टीले पहिले गठबन्धनमै छलफल गर्ने र त्यसको विकल्प खोज्ने विषयमा कुरै नगरेको बताए ।

उनका अनुसार सोमबार नै गठबन्धनको बैठक बोलाइएको छ । 

“सरकार गठनको बारेमा विषय प्रवेश भएको छैन,” उनले भने, “त्यसो भएको हुनाले पहिलो कुरा गठबन्धन घटकबीच पहिले कुरा हुने भयो । भोलि नै गठबन्धनको बैठक बसेर निर्वाचन सीमाको बारेमा समीक्षा गरौँ । एमालेसँग गठबन्धनको कुरा आएको छैन । हिजो कतै कतै समाचार आएको पनि देखियो तर त्यस्तो होइन । गठबन्धनको विकल्प खोजेका छैनौँ ।”

Tags :
प्रतिक्रिया दिनुहोस