नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न सक्नुपर्छ : श्रममन्त्री कुँवर « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न सक्नुपर्छ : श्रममन्त्री कुँवर


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताएका छन् ।

मन्त्री कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोक्न सक्नुपर्ने बताएका हुन् । उनले देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकको आकर्षण नभएकाले स्वदेशमै नयाँ व्यवसाय खोलेर रोजगारीको वातावरण मिलाउनु पर्ने बताए ।

मन्त्री कुँवरले गएको आर्थिक वर्षमा मात्रै छ लाख ३० जना नेपाली श्रम स्वीकृति लिएर विदेश गएको तथ्याङ्क रहेको बताए । उनले लुकेर र भिजिट भिसामा विदेशमा गई काम गर्नेका लागि कुनै समस्या परे राज्यले दिने सेवा, सुविधा नपाउने उल्लेख गरे । नेपालको कुल जनसंख्यामध्ये झण्डै आधा जनसङ्ख्या विदेशमा रोजगारीका लागि गएको भन्दै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा गम्भीर हुन आवश्यक रहेको उनको भनाइ छ ।

मन्त्री कुँवरले श्रम मन्त्रालयले विदेशबाट फर्किएकाहरूका लागि पुनः एकीकरणको कार्यक्रम ल्याएको भन्दै यसलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताए । उनले सामाजिक सुरक्षा कोषको दायरालाई बढाउन सके १० लाख जनासम्मको रोजगारी स्वदेशमा नै सिर्जना गर्न सक्ने दाबी गरे । मन्त्री कुँवरले स्वदेशमै उत्पादन बढाउन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक रहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस