अस्ट्रेलियालाई हराउँदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अस्ट्रेलियालाई हराउँदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । कप्तान लियोनल मेसीले कीर्तिमान बनाएको खेलमा शनिबार अस्ट्रेलियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

लियोनल मेसीले ३५ औँ मिनेटमा गरेको गोलबाट अर्जेन्टिनाले कतारको अहमेद अलि बिन रंगशालामा भएको खेलमा अग्रता बनाएको थियो । १८ यार्ड बक्सभित्रबाट निकोलस ओटामेन्डीले मिलाएको बलमा मेसीले उत्कृष्ट फिनिसिङ गरे ।

विश्वकपको नकआउट चरणमा मेसीले गरेको यो पहिलो गोल हो । यस्तै, जारी विश्वकपमा मेसीको यो तेस्रो गोल हो ।

योसँगै विश्वकपमा २२ खेल पुर्‍याएका मेसीले यसअघि म्याराडोनाको नाममा रहेको अर्जेन्टिनाबाट विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए । यसअघि म्याराडोनाले विश्वकपमा अर्जेन्टिनाबाट २१ खेल खेलेका थिए ।

अस्ट्रेलियाका गोलकिपरको गम्भीर गल्तीको फाइदा उठाउँदै ५७ औँ मिनेटमा जुलियन आल्भारेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । अस्ट्रेलियन गोलकिपर म्याथ्यु र्यानले ६ यार्ड बक्सभित्र नियन्त्रणमा लिन नसकेको बललाई आल्भारेजले सहजै गोल गरे ।

खेलको ७७ औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजबाट आत्मघाती गोल भएपछि अस्ट्रेलियालाई २–१ को अवस्थामा फर्काएका थिए । १८ यार्ड बक्सबाहिरबाट अस्ट्रेलियाका क्रेग गुडविनले गरेको प्रहार फर्नान्डेजबाट डिफ्लेक्ट हुँदै गोल भएको थियो ।

अर्जेन्टिनाका कप्तान मेसीको आजको खेल फुटबल करियरको १००० औँ खेल हो । मेसीले अर्जेन्टिनाबाट हालसम्म १६८ खेल खेलेका छन् ।

अर्जेन्टिना समूह ’सी’ को विजेता बन्दै नकआउटमा आएको हो । यता अस्ट्रेलिया भने समूह ’डी’ को उपविजेता बन्दै अन्तिम–१६ मा आएको थियो ।

जितसँगै अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्ससँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ ले पराजित गर्दै अन्तिम–८ मा स्थान बनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस