किवी खेतीप्रति जनप्रतिनिधिको आकर्षण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

किवी खेतीप्रति जनप्रतिनिधिको आकर्षण


१७ मंसिर २०७९, शनिबार


ढोरपाटन । पछिल्लो समय गाउँबाट बसाइँसराइ गरी बजार झर्नेको सङ्ख्या निकै ठूलो छ । सेवा सुविधा खोज्दै स्थानीय सहर बजारतिर झर्न थालेसँगै गाउँ सुनसान बन्दै गएका छन् । गाउँमा भएका युवा पनि विदेश पलायन भइरहेका छन् ।

बसाइँसराइ र विदेश पलायनले गर्दा गाउँका खेतीयोग्य जमिन वनमाराले ढाकिँदै गएका छन् तर, बागलुङका निसीखोला गाउँपालिका–४ का लिलाबहादुर घर्तीले भने वनमारा मासेर व्यावसायिक कृषि गरिराखेका छन् ।

घर्तीले थापागाउँमा सात वर्ष पहिले सुरु गरेको किवी खेतीले अहिले राम्रो उत्पादन दिन थालेको छ । गत स्थानीय तहको निर्वाचनमा निसीखोला–४ का वडासदस्यमा निर्वाचित भएका घर्ती लामो समय विदेशमा दुःख गरेपछि स्वदेश फर्किएर व्यावसायिक कृषि गर्न थालेका हुन् । कतार र भारतमा एक दशक बिताएका छन् । घर्तीले स्वदेशमै उद्यमी बन्ने योजना बनाएर फर्किएको बताए ।

“विदेशमा सङ्घर्ष धेरै नै गरियो, त्यहाँ गर्ने मेहनत आफ्नै बारीमा, आफ्नै गाउँठाउँमा गरेपछि राम्रो कमाइ गर्न सकिन्छ भन्ने सोचले फर्किए, गाउँ आएर बाँझो जग्गामा फलफूल खेती सुरु गरे, अहिले विस्तारै प्रतिफल दिन थालेको छ”, घर्तीले भने। उनले विदेशबाट फर्किएपछि सुरुमा परीक्षणका लागि १० वटा किवीका बिरुवा लगाएको भन्दै परीक्षण सफल भएपछि यसको खेती विस्तार गरेको बताए । उनले अहिले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा किवी खेती विस्तार गरेका छन् । आगामी वर्ष थप ६५ रोपनी क्षेत्रफलमा किवी रोप्ने योजना बनाएको उनी बताउछन् ।

‘किवी बहुउपयोगी फल हो, नेपालमा यसको माग विस्तारै बढ्दै छ, विदेशमा भने निकै पहिलेदेखि यसको उत्पादन भएको पाइन्छ, सुरुमा मेरो गाउँमा हुन्छ कि हुँदैन भनेर परीक्षणका लागि थोरै बिरुवा लिएर रोपे, राम्रो हुँदै गयो, अब यसको खेती बढाउँदै जाने तयारीमा छु’, उनले भने, ‘काम कहिल्यै पनि सानो ठूलो हुँदैन, गरे जे पनि सम्भव हुँदो रैछ ।’

घर्तीको बारीमा अहिले किवीका एक सय बोट छन् । ती सबैले फल दिन थालेको उनको भनाइ छ । यस वर्ष तीन हजार पाँच किलो किवी बेचेको उनले बताए । एक किलोको रु तीन सय ५० देखि चारसम्म पार्ने घर्तीले एक सिजनमा मात्रै रु १० लाख बढीको किवी बिक्री गरेको बताए । किवी बिक्रीका लागि समस्या नभएको भन्दै यसको मागअनुसारको उत्पादन गर्न नसकेको उनको भनाइ छ ।

जिल्लाको काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले पनि पाँच वर्षदेखि किवी खेती गर्दै आएका छन् । अध्यक्ष लामिछानेले परीक्षणकै क्रममा पनि राम्रो उत्पादन भएको बताए । उनले अहिले आफ्नो बारीमा दुई दर्जन बढी किवीका बोट रहेको भन्दै सबैले उत्पादन दिएको बताए ।

अध्यक्ष लामिछाने भन्नुहुन्छ, “पछिल्लो समय केवी खेती गर्ने कृषक बढ्दै गएका छन्, पहिले यो फलको खेती निकै कमले मात्र गरेको पाइन्थ्यो, मैले पनि ट्रायलका रुपमा लगाएको राम्रो भएको छ, यसको बजार पनि राम्रो छ, अरुको जस्तो समस्या छैन ।”

उनले यस वर्ष पाँच सय किलो किवी बिक्री गरेको बताए । थोरै बोटबाट पनि एक सिजनमा रु डेढ लाख आम्दानी भएको अध्यक्ष लामिछानेको भनाइ छ । उनले किवी खेतीका लागि अरु फलफूललाई जस्तो झण्झट गर्न नपर्ने बताए। एक पटक लगायो भने ५० औँ वर्षसम्म फल दिन सक्ने उनको भनाइ छ ।

“अहिले गाउँ–गाउँमा कृषकले किवी लगाउन थालेका छन्, यसको खेती गर्न धेरै गाह्रो छैन, सुरुमा लगानी गरियो भने वर्षौंसम्म लगानी गर्न पर्दैन, फल दिन थाल्यो भने आम्दानी हुन थाल्छ, कृषकले यसको खेती गर्न थाले भने छोटो समयमै राम्रो आम्दानी गर्न सक्छन्”, उनले भने । बडिगाड गाउँपालिकाका पूर्वअध्यक्ष मेयरसिंह पाइजाले २०५८ सालदेखि किवी खेती गर्दै आएका छन् । पाइजा जिल्लामै किवी खेती गर्ने पहिलो किसानमध्येमा पर्छन् । उनले करिब ४० रोपनी क्षेत्रफलमा किवी खेती गरेको जानकारी दिए । यस वर्ष पाँच लाखभन्दा बढीको किवी बिक्री गरेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस