महिनामा एक दिन भएपनि निर्वाचन क्षेत्र आउँछु : अशोक राई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महिनामा एक दिन भएपनि निर्वाचन क्षेत्र आउँछु : अशोक राई


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका जनता समाजवादी पार्टीका नेता अशोक राई आफू काठमाडौँमा मात्र नबस्ने बताएका छन्।

निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै राईले आफू महिनामा कम्तीमा १ दिन बस्ने गरी भएपनि निर्वाचन क्षेत्रमा आउने बताए। प्रदेशसभा सदस्यहरू सधैँ निर्वाचन क्षेत्रमा नै रहने र जनतासँग निरन्तर सम्पर्कमा हुने तर आफ्नो जिम्मेवारी नै संघीय सांसदको भएको कारण काठमाडौँमा बस्नुपर्ने बाध्यता पनि रहेको उनले बताए।

चुनावी घरदैलो अभियानको क्रममा मतदाताहरूले निर्वाचन पछि नेताहरू हराउने गरेको गुनासो गम्भीररुपमा उठाएको पनि उनले बताए।

जितसँगै काँधमा गम्भीर जिम्मेवारी थपिएको सांसद राईको भनाई थियो। सांसदहरूको मुख्य भूमिका ऐन, कानुन बनाउने र सरकारलाई मार्गदर्शन, नियन्त्रण र सन्तुलन गर्ने जिम्मेवारी भएपनि आफ्नो निर्वाचन क्षेत्रको विकास, पूर्वाधार निर्माणको अपेक्षालाई परिपूर्ति गर्न अधिकतम प्रयत्न गर्ने उनले बताए।

उनले कोसी राजमार्गलाई सुरुङ बनाएर लेउती झार्ने र तमोर करिडोर सडकसँग जोड्न आफूहरूको पहल हुने पनि बताए। धरानलाई रामधुनी र बराहक्षेत्रसँग जोड्न अलवेदर कनेक्टिभिटी सडक, पहाडी क्षेत्र विष्णुपादुका भएर चाँदीबजार हुँदै आहाले जाने कच्ची सडक, सुर्यकुण्ड भएर चतरा झर्ने कच्ची सडकलाई स्तरोन्नती गर्ने र आवश्यक पुलहरु बनाउने कामलाई प्राथमिकता दिने पनि उनले बताए।

यसपालीको निर्वाचनमा भर्खर बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको उदयबारे टिप्पणी गर्दै उनले लोकतन्त्रमा नयाँ व्यक्ति, नयाँ शक्ति र नयाँ पार्टीको जन्म हुनु स्वभाविक भएको बताए। तर, त्यसको अर्थ पुरानो पार्टी सन्दर्भविहीन र आवश्यकता नभएको अर्थमा लिन नहुने पनि उनले बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस