एसिड आक्रमणमा परेकाको निः शुल्क उपचार गर्ने अस्पतालका लागि सरकारले छुट्ट्यायो ५० लाख « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एसिड आक्रमणमा परेकाको निः शुल्क उपचार गर्ने अस्पतालका लागि सरकारले छुट्ट्यायो ५० लाख


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । सरकारले एसिड आक्रमणमा परेका पीडितहरूको कस्मेटिकबाहेक सबै उपचार आजीवन निःशुल्क गर्दै आएको छ ।

निःशुल्क उपचारका लागि काठमाडौँ उपत्यकाका चार ठुला अस्पताललाई ‘डेडिकेटेड’ अस्पतालका रूपमा तोकिएको छ । ती अस्पतालले निःशुल्क उपचार सेवा प्रदान गरेबापत सरकारबाट शोधभर्ना रकम पाउँछन् ।

यो वर्ष एसिड आक्रमणमा परेका पीडितको औषधि उपचारबापत अस्पतालहरूलाई शोधभर्ना शीर्षकमा ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

एसिड आक्रमणमा परेका पीडितहरूको उपचारसम्बन्धी कार्यविधि, २०७८ अनुसार एसिड आक्रमणमा परेकाहरूको निःशुल्क उपचारका लागि पहिलो चरणमा चार अस्पताल तोकिएको छ । वीर, त्रिवि शिक्षण अस्पताल, पाटन र कीर्तिपुर अस्पताललाई डेडिकेटेड अस्पताल तोकिएको छ ।

निःशुल्क उपचार पाउन के गर्नुपर्छ ?
एसिड आक्रमणमा परेका पीडितलाई नजिकैको जुनसुकै अस्पतालले अनिवार्य निःशुल्क प्राथमिक उपचार गराउनुपर्ने कार्यविधिमा उल्लेख छ ।

सोहीअनुसार पीडितले घटना भएको नजिकैको स्वास्थ्य संस्थामा सहजै सेवा पाउन सक्छन् । थप उपचारका लागि सो स्वास्थ्य संस्थाले रिफर लेटरसहित डेडिकेटेड अस्पतालमा पठाउनुपर्नेछ ।

यसरी रिफर गरी पठाइएका अस्पतालमा उपचार सम्भव नभए सो अस्पतालबाट पनि विशिष्टीकृत सेवासहितको अस्पताल वा डेडिकेटेड अस्पतालमा रिफर गर्नेछन् ।

डेडिकेटेड अस्पतालहरूमा कस्मेटिकबाहेक एसिड आक्रमणसँग सम्बन्धित सम्पूर्ण उपचार सरकारले आजीवन निःशुल्क गर्नेछ । उपचार प्रक्रिया प्रहरीले दिएको प्रतिवेदनका आधारमा हुने कार्यविधिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस