चुनावमा खटिने कर्मचारीले पाउँछन् यस्ता सेवा सुविधा ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चुनावमा खटिने कर्मचारीले पाउँछन् यस्ता सेवा सुविधा !


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । आज मंसिर ४ संघीय र प्रदेश सभाका निर्वाचनका लागि मतदान भइरहेको छ ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । यस पटकको निर्वाचनमा सङ्घ र प्रदेश गरी ११ हजार ५४३ उम्मेदवार चुनावी मैदानमा छन् ।

देशभरका १० हजार आठ सय ९२ मतदान स्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मतदाताले मताधिकार प्रयोग गर्नेछन् । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता सहभागी हुँदै छन् ।

निर्वाचनका लागि २ लाख ४६ हजार नौ सय ६० कर्मचारी खटाएको छ । देशभरका २२ हजार दुई सय २७ मतदान केन्द्र, एक सय ४१ अस्थायी मतदान केन्द्र र १० हजार आठ सय ९२ मतदान स्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीलगायत खटाइएका छन् ।

निर्वाचनमा खटिएका कर्मचारीको सेवा सुविधाका लागि आयोगले गत भदौ ८ गते नै प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०७९’ स्वीकृत गरेको थियो । सोही कार्यविधिले गरेको व्यवस्थाअनुसार विभिन्न सेवा सुविधा पाउँछन् ।

कार्यविधिअनुसार मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई प्रतिदिन दुई हजार पाँच सय, सहायक मतदान अधिकृतलाई दुई हजार, सहायक कर्मचारीलाई एक हजार छ सय र सहयोगी कर्मचारीलाई एक हजार दुई सय भत्ता उपलब्ध गराइन्छ । सहायक मतदान अधिकृत राजपत्राङ्कित स्तरको कर्मचारी भएमा भने अधिकृतसरह नै दैनिक तथा भ्रमण भत्ता पाउँछन् ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई निर्वाचन अधिकृतको कार्यालयबाट मतदान केन्द्रसम्म, मतदान केन्द्रबाट सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म र निर्वाचन अधिकृतको कार्यालयबाट आफ्नो कार्यालयसम्म जान आउन लाग्ने दिन र मतदान केन्द्रमा बस्ने तीन दिनकोसमेत दैनिक तथा भ्रमण भत्ता दिइन्छ । पैदल यात्रा गर्दा प्रति १५ किलोमिटरलाई एक दिन मानी दैनिक भत्ता उपलब्ध गराउने व्यवस्था छ ।

प्रमुख मतगणना अधिकारी (निर्वाचन अधिकृत)ले दैनिक दुई हजार पाँच सय, मतगणनाका लागि एकै समयमा एकभन्दा बढी मतगणना टोली परिचालन गरिएकामा प्रमुख मतगणना अधिकारी (निर्वाचन अधिकृत)ले प्रत्येक थप टोलीका लागि पाउने थप रकममा एक हजार पाउनेछन् ।

साथै सहायक मतगणना अधिकारीले प्रतिसिफ्ट दैनिक दुई हजार, मतगणना सहायक र कम्प्युटर अपरेटरले प्रतिसिफ्ट एक हजार छ सय, र कार्यालय सहयोगीले प्रतिसिफ्ट एक हजार दुई सय पाउनेछन् ।

मतगणनाका व्यवस्थापन खर्चअन्तर्गत २० हजारसम्म मतदाता भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३० हजार र निर्वाचन अधिकृतको कार्यालयले २५ हजार पाउनेछन् । साथै ५० हजारसम्म मतदाता भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले ४० हजार र निर्वाचन अधिकृतको कार्यालय ४० हजार पाउनेछन् ।

साथै ८० हजारसम्म मतदाता भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले ५० हजार र निर्वाचन अधिकृतको कार्यालय ५० हजार पाउनेछन् । साथै ८० हजारभन्दा बढी मतदाता भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले ६० हजार र निर्वाचन अधिकृतको कार्यालय ६० हजार पाउनेछन् ।

मतगणना केन्द्र निर्माण खर्चका रूपमा भवन उपलब्ध भएका ठाउँमा सात हजार र भवन उपलब्ध नभएका ठाउँमा १५ हजार उपलब्ध गराइन्छ । त्यस्तै मतपेटिका तथा निर्वाचन सामग्री ढुवानी खर्चका रूपमा प्रति १५ किलोमिटर तीन हजार मतपेटिका तथा निर्वाचन सामग्री ढुवानी खर्च दिने व्यवस्था रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस