उत्तर कोरियाली नेता किम पहिलो पटक कान्छी छोरीसँग देखिए  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उत्तर कोरियाली नेता किम पहिलो पटक कान्छी छोरीसँग देखिए 


३ मंसिर २०७९, शनिबार


काठमाडौँ । उत्तर कोरियाका नेता किम जोङ-उन आफ्नी कान्छी छोरीसँग पहिलो पटक सार्वजनिक रूपमा देखा परेका छन् । विश्वको सबैभन्दा गोप्य राज्यको नेतृत्व गर्ने नेता किमको व्यक्तिगत जीवन बारेमा धेरै कम थाहा भएका बेला सार्वजनिक भएको बाबुछोरीको तस्बिर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा व्यापक भएको छ ।

सेतो कोट लगाएकी आफ्नी छोरी किम चु-एको हात समाएर शुक्रबार उनी अन्तरमहादेशीय ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपणको निरीक्षणमा सहभागी भएको तस्बिर प्योङयाङले शनिबार सार्वजनिक गरेपछि क्षेप्यास्त्र परीक्षणलाई तीव्र गतिमा अघि बढाइएका लामो समयदेखि चलिरहेका अफवाहको पुष्टि भएको हो ।

अमेरिकासम्म प्रहार गर्ने क्षमता भएको देशको सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरिएको स्थलमा नेता किम श्रीमती, छोरी र वरिष्ठ अधिकारीका साथ उपस्थिति भएको उत्तर कोरियाको आधिकारिक समाचार संस्था केसीएनएले जनाएको छ । उक्त क्षेप्यास्त्र अमेरिकाका जुनसुकै स्थानमा प्रहार गर्न सक्षम रहेको दाबी गरिएको छ ।

नेता किमले शुक्रबार परीक्षण गरिएको उक्त क्षेप्यास्त्र अमेरिकी सैन्य धम्कीलाई नियन्त्रण गर्ने भरपर्दो एवं अधिकतम क्षमता भएको हतियार भएको उल्लेख गरेका छन् । क्षेप्यास्त्र परीक्षणपछि अमेरिकाले पनि सुपरसोनिक बमवर्षक विमान उडाएर शक्ति प्रदर्शन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस