निर्वाचनलाई असर गर्ने कुनैपनि गतिविधि सह्य हुँदैन : गृह सचिव सिंह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निर्वाचनलाई असर गर्ने कुनैपनि गतिविधि सह्य हुँदैन : गृह सचिव सिंह


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । गृह मन्त्रालयले निर्वाचनलाई असर गर्ने कुनैपनि गतिविधि नियन्त्रण गर्न सरकार सक्षम रहेको दाबी गरेको छ । 

शुक्रवार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह सचिव विनोद प्रकाश सिंहले भयरहित रूपमा मतदान सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको जनाए । 

उनले सुरक्षाका हिसाबले कुनै कमी नहुने भन्दै आवश्यक प्रबन्ध मिलाएको जानकारी दिए । त्यस क्रममा उनले हवाई र स्थल गस्ती हुने भन्दै त्यसको प्रबन्ध मिलाएको जानकारी दिए । कुनैपनि मतदान केन्द्रमा केही भए नेपाली सेनाको टोली बढीमा ३० मिनेटमा पुग्नसक्नेगरी व्यवस्था गरेको सचिव सिंहको भनाइ छ । उनले हवाई गस्तीका लागि नेपाली सेनाका हेलिकोप्टरका साथै निजी क्षेत्रका हेलिकोप्टर पनि तयारी अवस्थामा राखिएको जनाए । 

गृह मन्त्रालयले निर्वाचन विथोल्नसक्ने सम्भावित समूह र सङ्गठन पहिचान गरेको र कतिपयलाई नियन्त्रणमा समेत लिएको जनाएको छ । ‘हिंसात्मक गतिविधि र क्रियाकलाप गर्ने व्यक्ति, समूह र सङ्गठनलाई कानुनी दायरामा ल्याउने काम गरिरहेका छौँ । कुनैपनि किसिमले मतदानलाई असर गर्ने, कर्मचारी, मतदाताको सुरक्षा, उम्मेदवार र मतदान सामग्रीको सुरक्षामा खतरा हुने कुरा सह्य हुनेछैन, त्यसलाई कडा रूपमा नियन्त्रण गरिन्छ’, गृह सचिव सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए ।  

उनले भने, ‘केही समूह, केही दल हुन सक्छन् । लिस्टिङ छ । सूक्ष्म निगरानी गरिरहेको छ । निर्वाचनलाई असर गर्ने किसिमका गतिविधि नियन्त्रण गर्न हामी सक्षम छौ र यो निर्देशन स्थानीय तहमा पुगिसकेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस