१० दिन भित्र नहटे काठमाडौँका नदी किनारका सुकुम्वासी बस्ती भत्काउने चेतावनी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

१० दिन भित्र नहटे काठमाडौँका नदी किनारका सुकुम्वासी बस्ती भत्काउने चेतावनी


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँ उपत्यका नदी किनारमा रहेको सुकुम्वासी बस्ती हटाउने सूचना जारी गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै समितिले नदी किनारामा अनाधिकृत रूपमा निर्माण भएका घर टहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन १० दिन समय दिएको जनाएको छ ।

‘काठमाडौँ उपत्यका भित्रका बागमती र यसका सहायक नदी किनाराहरूमा तोकिएको मापदण्डभित्र अनाधिकृत रूपले बनाइएका घर/टहराहरु तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनहरुका कारण नदीको दुवै किनारातर्फको सौन्दर्यीकरण कार्यमा गम्भीर अवरोध पर्न गएको हुँदा पटक-पटक सार्वजनिक सूचना मार्फत सूचित गर्दा पनि उक्त सूचनाको बेवास्ता गरी हालसम्म पनि नदीको दायाँ बायाँ किनारा खाली गरेको नपाइएको हुँदा सूचना मिति २०७९ मङ्सिर ४ गतेसम्म अनिवार्य रूपमा त्यस्ता घर/टहराहरु तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनहरू हटाउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।

समितिले उक्त अवधि भित्र नदी किनारा खाली गरेको नपाइएमा सकिएको मिति पश्चात् काठमाडौं महानगरपालिका तथा अन्य सरोकारवाला निकायहरूसँगको सहयोगले लिएर भत्काउने बताएको छ । सूचना अनुसार अनधिकृत संरचना भत्काउन क्षेत्र खाली गर्दा/गराउँदा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने चेतावनी पनि दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस