‘समावेशी लोकतन्त्र र सुशासनको दिशामा अगाडि बढ्ने छौँ’ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

‘समावेशी लोकतन्त्र र सुशासनको दिशामा अगाडि बढ्ने छौँ’


१९ कार्तिक २०७९, शनिबार


काठमाडौँ । जनता समाजवादी पार्टीले मुलुकलाई पहिचानसहितको सङ्घीयता, समतामूलक लोकतन्त्रको समृद्धि, सामाजिक न्याय, समावेशी लोकतन्त्र र सुशासनको दिशामा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशभा सदस्य निर्वाचनका सन्दर्भमा उक्त पार्टीले जारी गरेको प्रतिबद्धतापत्रमा सामाजिक सुरक्षासहितको लोककल्याणकारी राज्य स्थापना गर्ने ध्येयका साथ मतदातासमक्ष चुनावी प्रतिबद्धता लिएर जाने सङ्कल्प गरेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले सबैको सम्मान र पहिचान, समानुपातिक प्रतिनिधित्व, समावेशी लोकतन्त्र तथा जनताको विकास, समृद्धि र प्रगतिको आकाङ्क्षा सम्बोधन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । प्रतिबद्धतापत्रमा भनिएको छ, “पहिचानसहितको सङ्घीयता संस्थागत गर्ने, समाजवादी अर्थ–राजनीतिक कार्यदिशा लागू गर्ने, सहभागितामूलक समावेशी लोकतन्त्र स्थापित गर्ने, सुशासन र सदाचारका माध्यमबाट आर्थिक तथा सामाजिक न्यायसहितको समतामूलक समृद्धि र मानवीय खुसी हासिल गर्ने, समानुपातिक निर्वाचन प्रणाली र समावेशीकरणलाई पार्टीले जोड दिँदै आएको छ ।”

मुलुकको राजनीतिक परिवर्तन सबै आन्दोलनको समग्र प्रतिफल भएको उल्लेख रहेको प्रतिबद्धतापत्रमा राज्यको सङ्घीय पुनसंरचना, शासकीयस्वरूपलगायत कतिपय विषयमा भने अझै पनि त्रुटि रहेको जनाइएको छ । नेपाली समाजको अर्थराजनीतिक रूपान्तरणको आवश्यकतालाई सम्बोधन गर्ने दृढता व्यक्त गरिएको प्रतिबद्धतापत्रमा नेपालका लागि सबैभन्दा उपयुक्त सिद्धान्त र उत्तम बाटो भएकाले सङ्घीय समाजवादी लोकतान्त्रिक राज्यव्यवस्थालाई अघि बढाइने उल्लेख गरिएको छ ।

समतामूलक समाजको निर्माणसँगै समानता, स्वतन्त्रता, बन्धुत्व, भाइचारा, सामाजिक न्याय तथा भ्रातृत्वको उच्चतम् अभ्यास गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र पहिचानसहितको सङ्घीयता, समावेशी एवं सहभागितामूलक लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व र समतामूलक समाज एवं साझेदारी समृद्धिको जनआकाङ्क्षालाई साकार पार्ने कार्यलाई पार्टीले प्राथमिकतामा राख्ने खाका प्रतिबद्धतापत्रमा प्रस्तुत गरिएको छ ।

देशमा विद्यमान विकृति, विसङ्गति, भ्रष्टाचार, असुरक्षा, कलङ्कका रुपमा रहेको छुवाछूत प्रथा र अव्यवस्थाको अन्त्य गरी मानिसको जन्मसिद्ध अधिकार र मानसम्मानजस्ता सम्पूर्ण मौलिक हक प्रदान गर्न तथा सामाजिक न्याय, सुशासन र जनमुखी प्रशासनका जसपाले काम गर्ने अठोट गरिएको छ । समाजवादोन्मुख सामाजिक, शैक्षिक, आर्थिक राजनीतिक, सांस्कृतिक कार्यक्रम कार्यान्वयन गरी विद्यमान आर्थिक असमानता जात, जातीय र वर्गीय विभेद समाप्त गर्न उक्त पार्टीले दृढ सङ्कल्प गरेको छ ।

नयाँ राष्ट्रिय युवा नीतिमार्पmत युवाको शारीरिक, मानसिक तथा भौतिक विकासका साथै सबैलाई शिक्षा, स्वास्थ्य, सुरक्षा तथा रोजगारीको प्रत्याभूति दिलाउँदै पार्टीले सामाजिक-आर्थिक रूपान्तरण गरी मुलुकलाई एक्काइसौँ शताब्दीको समृद्ध समाजवादी मुलुक निर्माण गर्ने उद्घोष गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस