रुकुम पश्चिममा माओवादीलाई समर्थन गर्दै काँग्रेस ‘ब्याक’ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रुकुम पश्चिममा माओवादीलाई समर्थन गर्दै काँग्रेस ‘ब्याक’


१८ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । रुकुम पश्चिममा चुनावी प्रतिस्पर्धाबाट नेपाली काँग्रेस अन्ततः  ‘ब्याक’ भएको छ । देशैभर वाम-लोकतान्त्रिक गठबन्धन एकसाथ चुनावी मैदानमा होमिएका बेला रुकुम पश्चिममा भने काँग्रेस र माओवादीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि छुट्टाछुट्टै उम्मेदवारी दिएका थिए । 

प्रतिस्पर्धाबाट पछि हटेका काँग्रेस उम्मेदवारले अब माओवादी केन्द्रका उम्मेदवारलाई साथ दिने भएका छन् । 

रुकुम पश्चिममा वाम-लोकतान्त्रिक गठबन्धन एकमत रहेको सन्देश दिन शुक्रबार मुसिकोटमा आयोजित पत्रकार भेटघाटमा पाँचदलीय गठबन्धनले माओवादीका उम्मेदवारलाई सघाउने प्रतिबद्धता जनाएका हुन् । 

शुक्रबारदेखि लागु हुने गरी गठबन्धनले प्रतिनिधिसभातर्फ साझा उम्मेदवारका रूपमा अर्थमन्त्री जनार्दन शर्मालाई सघाउने निर्णय गरेको छ । 

त्यस्तै, प्रदेश निर्वाचन क्षेत्र (क) र (ख) तर्फ माओवादी केन्द्रकै महेन्द्र केसी र राजकुमार शर्मालाई गठबन्धन दलहरूले सघाउने निर्णय गरिएको निर्वाचन प्रचारप्रसार समितिका संयोजक गोपालजिजङ्ग शाहले बताए । 

पाँच दलीय गठबन्धनले समानुपातिकतर्फ भने आ-आफ्नो पार्टीको चुनाव चिह्नमा मत माग्ने बताएको छ । 

गठबन्धनका दलहरूले आजदेखि मंसिर १ गतेसम्म जिल्लाभर निर्वाचन अभियान सञ्चालन गर्ने भएका छन् । 

प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा माओवादी केन्द्रको भागमा परेपछि गठबन्धन दलहरूमा एकता हुन सकेको थिएन । तर, जिल्लाको विकास र समृद्धिका लागि गठबन्धन दलहरूबीच एकता र सहकार्य आवश्यक रहेको भन्दै अन्ततः दलहरू सहमतिमा आएका हुन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रुकुम पश्चिमबाट १८ जनाको उम्मेदवारी दर्ता भएको थियो । जसमा प्रतिनिधिसभातर्फ ८ जना र प्रदेशसभा (क) र (ख) मा ५-५ को मनोनयन दर्ता भएको थियो । 

प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसको तर्फबाट मानबहादुर नेपाली, प्रदेश (क) तर्फ कृष्णबहादुर रोकाय, प्रदेश (ख) तर्फ प्रेमप्रकाश ओलीको उम्मेदवारी दिएका थिए । 

रुकुम पश्चिममा नेकपा (एमाले)का नन्दराम देवकोटा, राप्रपाका दीपककुमार मल्ल, मङ्गोल नेसनल अर्गनाइजेसनका हरिबहादुर पुन प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । त्यस्तै स्वतन्त्र तर्फ लालबहादुर महत, तारक केसी, राजन पाण्डे छन् । 

प्रदेश (क) तर्फ एमालेका नारायणकुमार शाह, राप्रपाका विनोदकुमार शाह र स्वतन्त्र रूपमा भीमदत्त खड्काले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रदेश (ख) तर्फ एमालेका कर्णबहादुर घर्ती, राप्रपाका निर्जल केसी र स्वतन्त्र रूपमा खड्क डाँगीले उम्मेदवारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस