तारे होटेलमा लगानी अर्बौँको, प्रतिफल अनिश्चित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तारे होटेलमा लगानी अर्बौँको, प्रतिफल अनिश्चित


९ कार्तिक २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ नक्सालमा शङ्कर ग्रुपले रु आठ अर्ब लगानीमा पाँचतारे होटेल हिल्टन निर्माण गरिरहेको छ। होटेल निर्माणका लागि शङ्कर ग्रुपले रु छ अर्ब बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिएको छ। होटेलले लिएको रु छ अर्ब कर्जाको न्यूनतम ब्याजदर १२ प्रतिशत मात्रै मान्ने हो भने पनि वार्षिक रु ७० करोड त ब्याजमा मात्रै खर्च गर्नुपर्छ। यद्यपि अहिले वाणिज्य बैङ्कहरूले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुर्‍याइसकेका छन्। 

हिल्टन होटेलमा कूल एक सय ७४ वटा कोठा रहनेछन्। यदि होटेलमा भएका सबै कोठा तीन सय ६५ दिन नै सञ्चालन हुने हो भने कर्जाको ब्याज तिर्नका लागि मात्रै प्रत्येक कोठाले न्यूनतम दैनिक नौ हजार पाँच सय रुपैयाँभन्दा बढी आम्दानी गर्नुपर्छ। तर पछिल्लो समय घट्दो अवस्थामा रहेको पर्यटकको सङ्ख्याका आधारमा हेर्दा सो अनुसारको आम्दानी हुने सम्भावना निकै कम छ। जुन समस्या हिल्टनले मात्रै होइन अन्य निर्माणाधीन तारे होटेलहरूले भोग्नुपर्ने देखिएको छ।

कोरोना महामारीको असर, बढ्दो ब्याजदर, पर्यटक आगमनमा भएको सङ्कुचन तथा सस्तो दरमा कोठा बिक्री गर्नुपर्ने बाध्यताका कारण तारे होटेलहरूमा भइरहेको अर्बौँ लगानी जोखिममा देखिएको जानकारहरूको बुझाइ छ। निर्माणाधीन होटेलहरूमा कोरोना महामारी, बढ्दो ब्याजदर, पर्यटक आगमनमा भएको सङ्कुचन तथा सस्तो दरमा कोठा बिक्री गर्नुपर्ने बाध्यताका कारण होटेलमा भइरहेको लगानी जोखिममा पर्ने देखिन्छ। 

होटेल एसोसिएसन नेपाल (हान)का अनुसार अहिले मुलुकभरका होटेलको औसत ‘अकुपेन्सी’ २५ प्रतिशत छ। अझ काठमाडौं बाहिरका होटेलमा करिब १५ प्रतिशतको अकुपेन्सी छ। आजका दिनमा होटेलमा भइरहेको लगानीमाथिको प्रतिफल सुनिश्चितका लागि पूर्ण दरमा बिक्री गर्ने हो भने पनि अकुपेन्सी ९० प्रतिशतभन्दा माथि हुनुपर्छ। नेपाल भ्रमण वर्ष २०११ का संयोजक समेत रहेका तथा हानका पूर्व अध्यक्ष पर्यटन व्यवसायी योगेन्द्र शाक्य पनि होटेलमा ओइरिएको लगानीमाथिको प्रतिफल आजका दिनमा सुनिश्चित नभएको स्वीकार गर्छन्।

उनका अनुसार हाल तारे होटेलहरूले औसतमा प्रतिकोठा न्यूनतम ७० देखि ९० डलरसम्म बिक्री गरिरहेका छन्। यही अवस्था रह्यो भने होटेलहरूले ब्याज मात्रै तिर्न पनि हम्मे हम्मे पर्ने उनको भनाइ छ।

होटेलहरूले लगानीमाथिका प्रतिफल सुनिश्चितका लागि औसतमा कोठाहरू तीन सयदेखि ३५० डलरमा बिक्री गर्न सक्नुपर्छ। तर सो बराबरको खर्च गर्ने पर्यटकको सङ्ख्या नबढ्दासम्म सम्भव देखिँदैन।

उनका अनुसार सन् २०११ र २०२० मा पर्यटक ल्याउने लक्ष्य लिनुका पछाडि केही वैज्ञानिक कारणहरू थिए। यसमा बढ्दो होटेलहरूको सङ्ख्या र अकुपेन्सीका आधारमा त्यति पर्यटक आवश्यक छ भनिएको थियो। लक्ष्यअनुसार पर्यटक नआउँदाको प्रत्यक्ष असर होटेलहरूमा बढिरहेको लगानी र त्यसको प्रतिफलमा देखिने अनिश्चित भएको शाक्यको भनाइ छ।

उद्योग विभागको तथ्याङ्क हेर्ने हो भने हाल निर्माणाधीन तारे होटेलहरूमा भएको लगानी मात्र रु ५० अर्बभन्दा बढी छ।  एकातिर धमाधम तारे होटेलहरूमा लगानी बढिरहने र अर्कोतर्फ अपेक्षाकृत रूपमा विदेशी पर्यटकको सङ्ख्या नबढ्दा लगानीमाथिको प्रतिफलको सुनिश्चित हुन सकेको छैन। करिब ४० वर्षदेखि पर्यटक व्यवसायमा समर्पित वसन्त मिश्र पनि होटेलहरूमा भइरहेको लगानीको प्रतिफल सुनिश्चित हुने आधार आजका दिनमा नदेखिएको बताउँछन्। यद्यपि पर्यटन क्षेत्रमा ओइरिएको लगानीलाई भने उनी सकारात्मक रूपमा लिन्छन्।

सरकारको नीति, पूर्वाधारमा तीव्र विकास, नयाँ गन्तव्यको खोजी,विश्व बजारमा गरिने प्रचारप्रसारमा सुधार नगर्दासम्म अहिले होटेलहरूमा भइरहेको लगानीले निर्धारित समयमा प्रतिफल दिन गाह्रो हुने उनको भनाइ छ।

हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहका अनुसार हाल नेपालमा सञ्चालित होटेलहरूमा करिब ५० हजार कोठा छन्। त्यसबाहेक निर्माण भइरहेका होटेलका कारण दुई हजार कोठा थप हुनेछन्। एकातिर होटेलहरूमा लगानी बढिरहेको छ भने अर्कोतर्फ आम्दानी सङ्कुचन हुँदै गएको छ। कोरोना महामारीका कारण घटेको पर्यटक आगमनको सङ्ख्या सन् २०१९ मा जत्तिकै पुर्‍याउन सन् २०२५ सम्म कुर्नुपर्ने अवस्था छ। उद्योग विभागका अनुसार हाल पाँचतारे मान्यता प्राप्त होटेलको सङ्ख्या १७ वटा छ। यसमा कोरोना महामारीपछि दरबार मार्गको होटेल डेला अन्नपूर्ण र लाजिम्पाटको होटेल सांग्रिला बन्द छन्। त्यसबाहेक सञ्चालित होटेलहरूको कोरोना महामारीपछि आम्दानीमा सुधारका सङ्केतहरू देखिन थालेका छन्। हाल निर्माणाधीन केही पाँचतारे होटेलहरूमा हिल्टन, सेराटन, बुढानीलकण्ठ हेरिटेज, द म्यासिफ, ट्रयाङकुलिटी रोयल, इस्टर्न होटेल, सूर्य नेपाल, होटेल सेफ्रोन, गोपीकृष्ण कम्प्लेक्स, आयुष्मान्लगायतका होटेल छन्।

Tags :
प्रतिक्रिया दिनुहोस