‘बन्धक’ बनाएका कर्मचारीको उद्धार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘बन्धक’ बनाएका कर्मचारीको उद्धार


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । पथलैया-वीरगञ्ज औद्योगिक करिडोरको छातापिपरास्थित त्रिवेणी स्पेनिङ मिल्स प्रालिका प्रमुखसहित व्यवस्थापकलाई प्रहरीले उद्धार गरेको छ ।

उद्योगमा कार्यरत मजदुरहरूले चाडपर्वमा बोनस नदिएको भन्दै  उद्योगका प्रमुख अशोक शर्मा, महाप्रबन्धक सतिष शर्मा, प्राविधिक शाखा प्रमुख एम के दास, उद्योग व्यवस्थापक प्रेमकुमार सिंह, प्रशासकीय अधिकृत राजेश श्रेष्ठसहित ८ जना कर्मचारीलाई थुनेका थिए ।

बुधवार दिउँसो १ बजे मजदुर र उद्योग प्रशासनबीच भएको वार्तामा सहमति नभएपछि साँझ ५ बजेदेखि आज (बिहीबार) दिउँसो ३ बजेसम्म उद्योगमै बन्धक बनाएर राखेको उद्योग व्यवस्थापक प्रेमकुमार सिंहले जनाएका छन् । बन्धक बनाइएका सबैलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेर इलाका प्रहरी कार्यालय सिमरामा लगेर राखेको सिंहले जनाए । 

त्रिवेणी स्पेनिङ मिल्स प्रालि जीतपुरसिमरा उपमहानगर-९ छातापिपरामा पर्दछ । सो उद्योग बारा–पर्सा औद्योगिक करिडोरमध्येकै सबैभन्दा धेरै मजदुर कार्यरत छन् । प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले उद्योग प्रमुख, व्यवस्थापक र कर्मचारीलाई उद्धारको क्रममा अश्रुग्याँस समेत प्रयोग गर्नुपरेको बताए । दोहोरो झडपको क्रममा ११ जना प्रहरी र केही मजदुरसमेत घाइते भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस