मिर्गौला प्रकरण : वीर अस्पतालले बिरामीको सबै उपचार निःशुल्क गर्ने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मिर्गौला प्रकरण : वीर अस्पतालले बिरामीको सबै उपचार निःशुल्क गर्ने


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । बिरामीलाई प्रत्यारोपण गर्न दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेको घटनामा वीर अस्पताल र बिरामी पक्षबीच तीन बुँदे सहमति भएको छ ।

बिहीबार अस्पतालमा भएको छलफलपछि अस्पतालले ती बिरामीको हालसम्मको उपचार खर्च मिनाहा गर्ने र आगामी दिनको उपचार पनि निःशुल्क गर्ने सहमति भएको अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा। भूपेन्द्र बस्नेतले जानकारी दिए ।

त्यस्तै पीडित पक्षले विस्तृत छानबिनको लागि स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलमा निवेदन दिने र छानबिन समितिको प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्ने सहमति भएको पनि उनले बताए ।

मंगलबार धादिङकी ३२ वर्षीया महिलाको मिर्गौला प्रत्यारोपणका लागि उनकी सासुको मिर्गौला झिकिएको थियो । तर दाताको शरीरबाट झिकिसकेपछि उक्त मिर्गौला प्रत्यारोपणका लागि अयोग्य देखिएको अस्पतालले जनाएको छ ।

मिर्गौला प्रत्यारोपणको काम युरोसर्जन डा.अनिल श्रेष्ठ र डा. पारसमणि श्रेष्ठले गर्दै थिए । उनीहरू दुवै वीरमा मिर्गौला प्रत्यारोपणका लागि अनुमति पाएका चिकित्सक हुन् । बिरामीका भाइ तिलबहादुर रम्तेलले यो विषयमा स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलमा उजुरी दिने बताए ।

प्रत्यारोपण गर्दा नेपाल सरकारले दिएको बाहेक अन्य लागेको खर्च अस्पतालले फिर्ता दिने सहमति भएको रम्तेलले बताए । अहिले सरकारले मिर्गौला प्रत्यारोपण गर्न ४ लाख रुपैयाँ खर्च दिने गरेको छ ।

अस्पतालका निमित्त प्रमुख डा.भूपेन्द्र बस्नेतका अनुसार प्रत्यारोपण गर्न सबै जाँच गरेर दाताको मिर्गौला निकालिएको थियो । 

अस्पतालले यो घटनाको विषयमा छानबिन गर्न सर्जरी विभागका चिकित्सक डा. प्रवीण श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।

जसको सदस्यमा रेडियोलोजी विभागका प्रमुख डा.सरोज शर्मा, मेडिसिन विभागका प्रमुख डा. अशेष ढुङ्गाना, सीटीभीएस विभागका प्रमुख डा.दिनेश चापागाईँ, एनेस्थेसिया विभागकी डा। ऋतु प्रधान, प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठ र शाखा अधिकृत सीताराम खड्का छन् ।

सम्बन्धित समाचार : मिर्गौला निकालेर प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा तनाव

Tags :
प्रतिक्रिया दिनुहोस