चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले सिक्नुपर्छ : पर्यटनमन्त्री श्रेष्ठ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले सिक्नुपर्छ : पर्यटनमन्त्री श्रेष्ठ


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले छिमेकी मित्रराष्ट्र चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले शिक्षा लिनुपर्ने बताएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनको अवसरमा ललितपुरमा फ्रेण्ड्स अफ सिल्क रोड क्लबले आयोजना गरेको फोटो प्रदर्शनी उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सामाजिक र आर्थिक विकासलाई नयाँ उचाइमा पुर्‍याएर चीनले विश्वको पहिलो आर्थिक शक्ति राष्ट्रमा सूचीबद्ध हुने सफलता हासिल गरेको बताए ।

पछिल्लो समय चीनले गरिबी निवारणमा उच्चतम सफलता हासिल गरी गरिबी पूर्ण उन्मूलन गरेको भन्दै उनले औद्योगिकीकरण र सूचना प्रविधिको क्षेत्रमा चीनले पाएको सफलताबाट प्रेरणा लिनुपर्ने बताए ।

उनले नेपालसँग सीमा जोडिएको र नेपालको विकासमा एक असल मित्रको रूपमा चीन सरकारले नेपालको विकास निर्माणमा निरन्तर सहयोग गर्दै आएको बताए । फोटो प्रदर्शनीमा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक सय वर्षको अवसरमा चीनले हासिल गरेका उपलब्धिहरू समेटिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस