उपसभामुख र एमाले संसदीय दलका नेताले फिर्ता गरेनन् गाडी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

उपसभामुख र एमाले संसदीय दलका नेताले फिर्ता गरेनन् गाडी


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाका उपसभामुखसहितका पदाधिकारीले सुविधा बापत पाएको गाडी अझै फिर्ता नगरेको पाइएको छ ।

उपसभामुख निर्मला जोशी बडाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता प्रकाश शाहले सरकारी सुविधा बापतको गाडीसहितका सामान फिर्ता नगरेको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सभामुख अर्जुनबहादुर थापासहित विषयगत समितिका सभापति, सत्ता पक्षीय दलका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतकले सुविधा बापत पाएका गाडी फिर्ता गरेका छन् । तर उपसभामुख बडाल र शाहले भने अहिलेसम्म प्रयोग गरिरहेका छन् ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले पनि उपसभामुख बडालले प्रयोग गर्दै आएको से १ झ २७७ नम्बरको स्कारपियो गाडी, सुपप्र ०१००१ ब् १४४५ नम्बरको स्कुटर, दुई वटा मोबाइल र ल्यापटप तथा शाहले प्रयोग गर्ने से १ झ २९९ नम्बरको गाडी र ल्यापटप अहिलेसम्म फिर्ता नभएको पुष्टि गरे ।

उपसभामुख बडालले अहिलेसम्म सरकारी निवास प्रयोग गरिरहेकी छन् ।

सभामुख थापाले सरकारी गाडी, निवास र सुरक्षा फिर्ता गरेको र सचिवालयबाट बुझेको ल्यापटप, डिजिटल क्यामेरा र मोबाइल फोन भने नबुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ । यस्तै सार्वजनिक लेखा समितिकी सभापति नन्दा बमले सरकारी गाडी फिर्ता गरे पनि सचिवालयबाट बुझेको ल्यापटप र प्रिन्टर फिर्ता गरेकी छैनन् ।

कार्यकाल सकिएपछि कानुनतः फिर्ता गर्नुपर्ने प्रदेशसभा सदस्यको लोगो भने कसैले पनि फिर्ता नगरेको प्रदेशसभा सचिवालयले जनाएको छ । सरकारी सुविधा बापत पाएको गाडीसहितका सामग्री फिर्ता नगरिएको विषयमा उपसभामुख बडालले फिर्ता नगरे पनि आफूले प्रयोग नगरेको दाबी गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस