नेपाल र स्विट्जरल्याण्ड सिधा हवाई सम्पर्कमा जोडिँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल र स्विट्जरल्याण्ड सिधा हवाई सम्पर्कमा जोडिँदै


१८ आश्विन २०७९, मंगलबार


काठमाडौँ । नेपाल र यूरोपेली मुलुक स्वीट्जरल्याण्ड सिधा हवाई सम्पर्कमा जोडिने भएका छन् ।

नेपाल र स्वीट्जरल्याण्डका नागरिक उड्डयन प्राधिकरणबीच द्विपक्षीय हवाई सम्झौताको प्रक्रिया अगाडि बढाउने र त्यस अगाडि नै वायुसेवा कम्पनीले चाहेमा उडान गर्न सक्ने गरी समझदारी भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार स्वीस इन्टरनेशनल एयरलाइन्सले सिंगापुर एयर र भारतको भिस्तारा एयरसँग ‘कोड शेयर’ सम्झौतामार्फत नेपाल उडान गर्न चाहेको छ।

यस अवस्थामा स्विट्जरल्याण्ड र काठमाडौं सिधा हवाई सञ्जालमा जोडिने छन् । दुई मुलुकबीच हवाई सेवा सम्झौता भने आगामी डिसेम्बरमा गर्ने समझदारी समेत बनेको उनले जानकारी दिए ।

डिसेम्बरमा नाइजेरियामा हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको एक बैठकमा दौरान हवाई सेवा सम्झौतामा हस्ताक्षरको तयारी गरिएको छ ।

अधिकारीका अनुसार स्वीस इटरननेशनल एयरलाइन्सले गौतमबुद्ध र त्रिभुवन विमानस्थल दुवै विमानस्थलमा उडान गर्न सक्नेछन् ।

नेपालबाट पनि कुनै पनि एयरलाइन्सले सो मुलुक जान चाहेमा जान सक्ने गरी समझदारी बनेको उनले जानकारी दिए । दुई मुलुकबीच अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको सम्मेलनका दौरान क्यानडामा यस्तो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

अब कोड शेयरसँग सम्बन्धित सम्झौता नेपालको मन्त्रालयमा बुझाएसँगै स्वीसले नेपाल उडानको अनुमति पाउने अधिकारीले जानकारी दिए ।

उता, नेपाल र अमेरिकासँग समेत हवाई सञ्जालमा जोडिने गरी तयारी अगाडी बढेको छ । यसले दुवै देशका वायुसेवालाई एक अर्का मुलुकमा जान सक्ने ढोका खुल्ने उनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस