काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले करारमा रहेका शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गर्ने तयारी गरेको छ ।
विश्वविद्यालयको आउँदो बिहीबार हुने सिनेट बैठकमा करारमा रहेका ७ जना शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी गर्ने तयारी गरेको हो । विभिन्न समयमा करारमा नियुक्त भएका शिक्षकहरूलाई स्थायी गर्न लागेको एक प्राध्यापकले जानकारी दिए ।
त्यसैगरी विश्वविद्यालयले सिनेट बैठकबाट दुई वटा थप परीक्षा सह-नियन्त्रकको पद थप गर्ने तयारी गरेको छ । ४ हजार ४२५ विद्यार्थी रहेको विश्वविद्यालयमा एक परीक्षा नियन्त्रक र एक सह-नियन्त्रक रहेका छन् ।
खुला प्रतिस्पर्धा नगराई करारलाई स्थायी नियुक्त गर्दा विश्वविद्यालयको गुणस्तर खस्किने भन्दै विरोध भएको छ ।