तलब भत्ता दिन नसक्ने भन्दै नगरपालिकाद्वारा दर्जन कर्मचारी मन्त्रालय फिर्ता  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तलब भत्ता दिन नसक्ने भन्दै नगरपालिकाद्वारा दर्जन कर्मचारी मन्त्रालय फिर्ता 


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । धनुषाको मिथिला विहारी नगरपालिकाले दर्जन कर्मचारीलाई फिर्ता पठाएको छ । 

मन्त्रालयले चालु आर्थिक वर्षदेखि सशर्त अनुदान पठाउन बन्द गरेको र नगरपालिकाको आन्तरिक आयस्रोत न्यून भएकाले स्वीकृत दरबन्दी भन्दा फाजिलमा रहेका ११ स्वास्थ्य सेवाका कर्मचारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा फिर्ता पठाएको हो । 

‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ देखी सशर्त अनुदान पठाउन बन्द गरेको र नगरपालिकाको आय स्रोत न्यून भएकाले दरबन्दी भन्दा फाजिल कर्मचारीको तलब भत्ता दिन नसकिने भएकाले नगर कार्यपालिकाको २०७९ भदौ २४ गतेको निर्णयअनुसार आजकै मिति (२०७९ असोज ०६ गते) बाट लागु हुने गरी कर्मचारी फिर्ता पठाएको जानकारी गराइन्छ’, मन्त्रालयलाई बोधार्थ गरिएको पत्रमा उल्लेख गरिएको छ । 

नगरपालिकाले सिनीयर अहेव (छैटौँ) वीरेन्द्र नायक र शङ्कर मण्डल, सिनीयर अहेव (पाँचौँ)ओमप्रकाश यादव, राजेन्द्र कुमार शाह हेल्थ असिस्टेन्ट (पाँचौँ) लाई फिर्ता पठाएको हो । 

यस्तै अहेव (चौथो) संजित कुमार यादव, रामशोभारभ मण्डल, राम शङ्कर मण्डल, धिरेन्द्र यादव, वीरेन्द्र कुमार झा, प्रदीप कुमार साह र अमृत कुमार पासमानलाई पनि नगरपालिकाले फिर्ता पठाइएको  छ ।

स्वास्थ्य सेवामा उहिल्यै देखिको गोलमाल छ, त्यसैमाथि समायोजनको समस्या अहिलेसम्म पनि समाधान गर्न नसक्दा कर्मचारीले त सास्ती पाएका छन् नै सेवा प्रवाहमासमेत नकारात्मक असर पर्दै गएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस