दक्षिण कोरियासँग काठमाडौँको फोहोर व्यवस्थापनमा सहयोगको अपेक्षा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दक्षिण कोरियासँग काठमाडौँको फोहोर व्यवस्थापनमा सहयोगको अपेक्षा


६ भाद्र २०७९, सोमबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले काठमाडौँको फोहोर व्यवस्थापनमा दक्षिण कोरियाको सहयोगको अपेक्षा गरेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलले आइतबार गरेको शिष्टाचार भेटमा सभामुख सापकोटाले फोहोर मैला व्यवस्थापनमा सहयोगको अपेक्षा गरिएको बताएका छन् ।

सिंहदरवारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले भने, ‘फोहोर मैला व्यवस्थापनमा दक्षिण कोरियाले अब्बल साबित गरेको छ, अन्य सहरमा पनि सहयोगको कुरा छ, काठमाडौँको फोहोर मैला व्यवस्थापनमा कोरियाली सहयोगको अपेक्षा गरेका छौँ ।’

आर्थिक र सामाजिक विकासमा दक्षिण कोरियाको निरन्तर सहयोगका लागि आभार व्यक्त गर्दै सभामुख सापकोटाले कोरियाले गरेको द्रूत विकासबाट नेपालले सिक्न चाहेको उनले बताए ।

भेटमा सभामुख सापकोटाले नेपालीका लागि दक्षिण कोरिया आकर्षक रोजगारीको गन्तव्य भएको चर्चा गर्दै नेपाली कामदारको कोरियामा प्रशंसा भएकोमा खुसी व्यक्त गरेका थिए ।

भेटमा दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलका तर्फबाट कोरिया नेपाल संसदीय मैत्री समूहका अध्यक्ष लिस्याङ हेयोनले आफूहरू नेपाललाई माया गर्ने सांसदहरू रहेको भन्दै आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए ।

वातावरण क्षेत्र हेर्ने जिम्मेवारीमा रहेका सांसद संलग्न प्रतिनिधि मण्डलका सदस्यहरूले नेपालका विभिन्न सहरमा फोहोर मैला व्यवस्थापनमा कोरियाले सहयोग गरिरहेको बताउँदै काठमाडौँको फोहोर व्यवस्थापनका विषयमा स्वदेश फर्किएपछि गम्भीरताका साथ अध्ययन गर्ने जानकारी दिएका थिए ।

उनीहरूले कोरियामा नेपाली कामदारका लागि अवसर बढाउने विषयमा स्वदेश फर्केपछि श्रम मन्त्रीसँग छलफल गर्ने जानकारी पनि गराएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिनिधि मण्डलमा मैत्री समूहका अध्यक्ष लि स्याङ हेयोन सहित सांसदहरू बाइयोङ गिलएन, ह्याक योङ लि, वियोङ जु किमका साथै नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुक लगायत सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस