मिटर ब्याज सरकारको लागि ठुलो चुनौती : लालबाबु राउत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मिटर ब्याज सरकारको लागि ठुलो चुनौती : लालबाबु राउत


१५ श्रावण २०७९, आइतबार


जनकपुरधाम। मुख्यमन्त्री लालबाबु राउतले मिटर ब्याज सरकारको लागि ठुलो चुनौती बन्दै गएको बताएका छन् ।

मिटर ब्याजीविरूद्ध सङ्घर्ष समितिको आज (आइतबार) ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राउतले उक्त कुरा बताएका हुन् ।

उनले समाजको विकृतिको रूपमा रहेका मिटरब्याजीलाई कानुनको दायराभित्र ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

मिटरव्याजी पीडितहरूको पक्षमा प्रदेश सरकार गम्भीर रहेको बताउँदै उनले त्यस्ताविरूद्ध कडा कदम चाल्ने आश्वासन दिए ।

प्रहरी प्रशासन प्रदेश मातहत नहुँदा ठोस कदम चाल्न नसकिएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले भने, ‘सम्बन्धित ठाँउहरूमा आवाज उठाउँदै आएको छु । चाँडै समस्या समाधानको बाटो पहिल्याइन्छ ।’

सङ्घर्ष समितिका संयोजक मनोज कुमार पासमान नेतृत्वमा गएका मिटरब्याजी पीडितहरुले मुख्यमन्त्री राउतलाई ज्ञापन बुझाएका छन् ।

ज्ञापन पत्रमा मिटरब्याजीलाई कारबाही गरी उनीहरुको सम्पत्ति छानबिन हुनुपर्ने, जफत गरिएको पीडितको सम्पत्ति छानबिन हुनुपर्ने, तमसुक व्यवस्था खारेज हुनुपर्ने, सहुलियत दरमा ऋणको व्यवस्था हुनुपर्ने, मिटरब्याजीबाट ऋणीमाथि गरिएको यौन शोषणको छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस