पर्यटन पुनःउत्थन कार्यक्रम घोषणा गर्दै पर्यटनमन्त्री श्रेष्ठ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पर्यटन पुनःउत्थन कार्यक्रम घोषणा गर्दै पर्यटनमन्त्री श्रेष्ठ


८ श्रावण २०७९, आइतबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज पर्यटन पुनःउत्थन कार्यक्रम घोषणा गर्दैछ। 

कोरोनाका कारण केही वर्षयता लयमा फर्किन नसकेको पर्यटन क्षेत्रलाई पुनः उत्थान गर्न हेतुले मन्त्रालयले कार्यक्रम घोषणा गर्न लागेको हो। कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले घोषणा गर्नेछन्।

यसअघि  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाले लगतै गठन गरेको नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तर्जुमा समितिले कार्ययोजना सहितको प्रतिवेदन बिहीबार बुझाएको थियो। 

मन्त्री श्रेष्ठले असार १३ गते  पदभार ग्रहण गर्दै नेपालको पर्यटन क्षेत्र पुनरुत्थान गर्न तत्कालीन र दीर्घकालीन कार्ययोजना तयार गर्न समिति गठन गरेका थिए।

समितिले सरोकारवालासँग छलफल तथा विगतमा गठन भएका विभिन्न समितिका प्रतिवेदन अध्ययन गरी कार्ययोजना तयार गरेको हो। प्रतिवेदन बुझ्ने क्रममा मन्त्री श्रेष्ठले कार्ययोजनाले मन्त्रालयको कामलाई दिशानिर्देश गर्ने बताए।

कार्ययोजनामा एक महिनाभित्र गर्न सकिने काम, तीन महिनामा गर्न सकिने काम, ६ महिनाभित्र गर्न सकिने काम, एक वर्षभित्र गर्न सकिने काम र निरन्तर गर्नुपर्ने कामका ५१ वटा योजना समावेश गरिएको छ। 

कार्ययोजना कार्यान्वयन गर्ने निकाय र कार्यान्वयनका लागि सहयोगी संस्थाबारे पनि प्रतिवेदनमा उल्लेख छ । 

पर्वतीय पर्यटन सुधारका लागि कानुन संशोधन गर्नुपर्ने, पर्यटकको नेपाल बसाई सुरक्षित बनाउन सङ्कट व्यवस्थापन एकाइ स्थापना गर्ने, ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाउने अभियान’ का लागि एनआरएनसँग सम्झौता गर्ने, काठमाडौँका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा जोड्न सम्पदा मार्ग निर्माण गर्ने, कोभिडपछि नेपाल सुरक्षित गन्तव्य रहेकोबारे बजारीकरण गर्ने कार्ययोजनामा उल्लेख छ। 

यस्तै  रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने, सगरमाथा संवाद पुनः सुरु गर्ने, अन्तर प्रदेश हवाइ सेवा विस्तार गर्ने, प्रयोगमा नआएका विमानस्थललाई एयर सपोर्ट एक्टिभीटी सेन्टरका रूपमा विकास गर्ने पनि कार्ययोजनामा उल्लेख छ । 

महत्त्वपूर्ण पर्यटकीय स्थलहरूमा राष्ट्रिय सरसफाइ अभियान चलाउने, पर्यटन डिजिटल नक्सा बनाउने लगायत विषय पनि कार्ययोजनामा उल्लेख छ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा पर्यटन विभागका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डका प्रतिनिधिका साथै तीन जना विज्ञ सम्मिलित समिति गठन गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस