२४ घण्टामा चट्याङबाट ७ जनाको मृत्यु, ३ जना घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा चट्याङबाट ७ जनाको मृत्यु, ३ जना घाइते


१५ असार २०७९, बुधबार


काठमाडौँ । चट्याङबाट गएको २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन् ।

३ जना घाइते भएका हुन् । गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालक केन्द्रका अनुसार पर्सा, धादिङ, रुपन्देही, नवलपरासी, बाँके, बाग्लुङ र कैलालीमा चट्याङ् लागेर ७ जनाको मृत्यु र ३ जना घाइते भएका हुन् ।

मनसुनी वर्षासँगै विभिन्‍न जिल्लाका १३ ठाउँँमा चट्याङ परेकोमा ७ जनाको मृत्यु र ३ जना घाइते भएका हुन् । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ औराहारेन्ज बस्ने ३२ वर्षीय हरेन्द्रदास थारुको सोही खेतमा काम गर्ने क्रममा चट्याङ लागेर मंगलबार दिउँँसो मृत्यु भएको हो ।

बागलुङ, काठेखोला गाउँपालिका–४ तग्राम फापरखेतका २८ वर्षीया सुस्मा पुनको कोठामै बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ ।चट्याङबाट घाइते पुनको धवलागिरी अस्पताल बागलुङमा उपचारकाक्रममा मृत्यु भएको हो ।

यस्तै धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका–२ बेलगाउँँका ४२ वर्षीय लिलामान कुमालको चट्याङबाट गोठमा गाईलाई घाँस हाल्न गएको बेला मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता बाँके, राप्तीसोनारी गाउँपालिका–३ नारायणपुरका ७ वर्षीय बालकको घरमै खेलिरहेको बेला चट्याङ लागेर घाइते भएकोमा नेपालगञ्ज नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको छ । यस्तै, पश्चिम नवलपरासी र कैलालीमा चट्याङबाट दुईजनाको मृत्यु भएको छ ।

नवलपरासीको रामग्राम नगरपालिका–१० की ६० वर्षीय एक महिला र कैलालीको कैलाली गाउँपालिका–१, रानामुराकी ५६ वर्षीय महिलाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । दुवैजना चट्याङबाट घाइते भएकोमा उपचारका क्रममा मृत्यु भएको थियो । चट्याङबाट आधा दर्जन जिल्ला उच्च जोखिममा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस