दुई सातामै कोभिडको संक्रमणदर झन्डै तीन गुणा बढ्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दुई सातामै कोभिडको संक्रमणदर झन्डै तीन गुणा बढ्यो


१२ असार २०७९, आइतबार


काठमाडौँ । दुई सातायता कोभिडको संक्रमण दर झन्डै तीन गुणाले बढेको छ ।

गत जेठ २९ मा कोभिड संक्रमण दर (पोजेटिभिटी रेट) ०.५५ प्रतिशत मात्र थियो । दुई सातामै शनिबार त्यो दर १.४९ प्रतिशत पुगेको छ ।

पछिल्लो पटक असार ६ गते पोजेटिभिटी दर १.१३ प्रतिशत पुगेको थियो ।

संक्रमण दर उकालो लागेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । दुई साताअघि (२९ गते जेठमा) १०६ जना सक्रिय संक्रमित रहेकामा शनिबार त्यो संख्या बढेर १८८ पुगेको छ ।

त्यस्तै सघन उपचार कक्षामा भर्ना हुने कोभिड बिरामीको संख्यासमेत चार पुगेको छ । ६ दिनअघि एक जना मात्र सघन उपचारमा थिए ।

‘दुई सातामा पोजिटिभिटी रेट झन्डै तीन गुणाले बढेको छ,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भने, ‘भारतमा बढ्दो संक्रमणको प्रभाव र मुलुकमा हाल देखिएको जनस्वास्थ्य मापदण्डमा लापरबाहीले संक्रमणमा वृद्धि देखिएको हो ।’

विज्ञहरूका अनुसार संक्रमण बढ्ने क्रम दुई महिनादेखि नै सुरु भए पनि एक सातायता तीव्र बनेको हो । कोभिडको केस बढेपछि सबै अस्पताललाई सतर्क हुन पत्र पठाइसकेको डा. दासले जानकारी दिए ।

भारतमा संक्रमण बढ्ने क्रमसँगै नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको डा. दासको भनाइ छ । भारतबाट नेपाल आउनेको परीक्षण नतिजा हेर्दा पनि संक्रमण दर क्रमशः बढ्न थालेको छ ।

‘नाकामा शनिबार मात्र ४ जना पोजेटिभ देखिएका छन् भने केही दिनयता दैनिक सरदर ४ देखि ६ जना संक्रमित भेटिएका छन्,’ उनले भने ।

दासका अनुसार नाकामध्ये सबैभन्दा बढी संक्रमण लुम्बिनी प्रदेशको बेलहियामा देखिएको छ ।

भारतमा शुक्रबार कोभिडले २० जनाको मृत्यु भएको छ भने संक्रमण दर बढेर ४.३९ प्रतिशत पुगेको छ । कोभिड संक्रमितको संख्या करिब एक लाख पुगेको छ ।

संक्रमण उकालो लागेपछि भारतमा बढी संक्रामक मानिएका ‘बीए ४’ र ‘बीए ५’ भेरिएन्ट नेपाल भित्रिएको आशङ्का गरिएको छ । यसका लागि विशेष सावधानी अपनाइएको डा। दासले बताए ।

‘तेस्रो लहरअन्तर्गत ओमिक्रोन र यसको ‘बीए.२’ भेरिएन्ट मात्र पाइएकामा भारतमा बढी संक्रामक मानिएका ‘बीए.४’, र ‘बीए.५’ भेरिएन्ट नेपालमा भित्रियो वा भित्रिएन भन्नेबारे निरन्तर परीक्षण गरेर सावधानी अपनाइरहेका छौँ ।’

कुल जनसंख्याको झन्डै ७० प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप लगाइसकेकाले जटिल संक्रमण, संक्रमणको विस्तार धेरै तीव्र नभएको र मृत्युदर न्यून रहेको डा. दासको दाबी छ ।

संक्रमणबाट बच्न मास्कको प्रयोग, खोप, हातको सरसफाइलगायतका स्वास्थ्य मापदण्ड पालना गर्न उनले सुझाव दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस